Header Ads

केन्द्राध्यक्ष र निरीक्षकमाथि ढुङगामुडा - स्थिति तनावपूर्ण

सुर्खेत । प्रवेशिका परिक्षामा चिट चोर्न नदएको भन्दै दैलेखको एक परीक्षा केन्द्रमा विद्यार्थी र अभिभावकहरुले आक्रमण गरेका छन् । विद्यार्थी र स्थानीयले एकाएक परीक्षा केन्द्रमा ढुङ्गामुडा गरेपछि आइतबार दैलेखको नौमूलेमा रहेको भैरव उच्च मावि परीक्षा केन्द्र तनाव ग्रस्त भएको छ।

अनिवार्य गणितको परीक्षामा कडाइ गरी चिट चोर्न नदिएको भन्दै परीक्षार्थी र उनीहरुका अभिभावकले ढुङ्गामुडा गरेका थिए । विद्यार्थी र अभिभावकहरुले आक्रमण थालेपछि प्रहरीले त्यसलाई रोक्न खोज्दा स्थिति तनावपूर्ण बनेको थियो । परीक्षा सकिएपछि परीक्षा हलबाट निस्केका विद्यार्थीले केन्द्राध्यक्ष र निरीक्षकमाथि ढुङगामुडा गरेका हुन्।

 विद्यार्थी र अभिभावकले परीक्षा केन्द्र नै नियन्त्रणमा लिन खोजेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । सोहीक्रममा प्रहरी र स्थानीयबीच झडपसमेत भयो । विद्यार्थी र स्थानीयको आक्रमणबाट परीक्षा केन्द्रको सुरक्षामा खटिएका प्रहरी जवान बोधिलाल विक गम्भीर घाइते भएका छन्।

 परीक्षा सकिएपछि बाहिर आइसकेका परीक्षार्थी र अभिभावकले प्रहार गरेको ढुङ्गाले टाउकोमा गम्भीर चोट लागेका विकको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको दैलेखका डीएसपी माधवप्रसाद श्रेष्ठले जानकारी दिए।

केन्द्राध्यक्ष नगेन्द्र सिंहले विद्यार्थी र अभिभावकले परीक्षा केन्द्रलाई घेरा हालेर आक्रमण गरेको बताए। झडपका क्रममा प्रहरीले लाठीचार्ज गर्दा २ विद्यार्थी घाइते भएका छन्। उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
Powered by Blogger.