Header Ads

नक्कली ‘छोरा’ले अंश लिए,सक्कलीको बेहाल

गोरखा,चैत ३ । मनकामना ५ डाँडागाउँका मानबहादुर बेपत्ता भएको ३० वर्षपछि गत शुक्रबार घर फर्किए । बाबु टीकाराम र आमा सुकमायाको मृत्यु भइसकेको र भाइ गणेश अंश लिएर छुट्टििएको थाहा पाए । पत्नी शान्ता खैरेनीमा बसोबास गरेको पनि थाहा पाए ।

यस अवधिमा आफ्नै अनुहार मिल्ने एक जना आएर आफ्नै अभिनय गरेर १० वर्ष घरमा बसेको ,नागरिकता लिएको,अंश लिएको,बाआमाको काजकिरिया गरेको र श्रीसम्पत्ति बेचबिखन गरी बेपत्ता भएको थाहा पाएपछि अनि उनी चकित भए । ‘घरमा आएँ । आफ्ना दमाली (साथीभाइ) भेटें ।

सबै अँगालो हालेर रुन थाले’, उनले शुक्रबार दुई बजेतिर गाउँ आइपुग्दाको घटना सम्झँदै भने,‘किन के भयो र रोएको भनेर सोध्दा पो थाहा भयो,एउटा मान्छे म बनेर आएछ । १० वर्षसम्म बसेछ । बुबाआमा मरेपछि झिटीझाम्टो बेचेर हिँडेछ ।

 पत्नी शान्ता भने यो मेरो लोग्ने होइन भनेर नजिक पर्न नमानी खैरेनी गएर बसिछन् ।’ अहिले उनको नक्कली अवतार कहाँ छ भन्ने कसैलाई पत्तो नभएको उनी बताउँछन् । गाउँमा पुन्टे भनेर बोलाइने मानबहादुरले गाविसको रेकर्डअनुसार २०४२ साल माघ १७ गते नागरिकता बनाएका थिए ।

२०४३ सालमा उनी लहैलहैमा भारत गए । ‘हिमाञ्चल प्रदेशको विभिन्न ठाउँमा आफ्नै समस्याले म उतै अल्झिएर आउन पाइनँ,’ उनी भन्छन्,‘अहिले दाङको ऐलानी जग्गामा बसोबास गर्छु । आफ्नो नाममा दर्ता गर्न नागरिकता चाहिएर आएको ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Powered by Blogger.