Header Ads

आज मृर्गौला दिवस मनाइँदै,वार्षिक तीन हजार मृगौला रोगी थपिदै

काठमाडौँ, फागुन २८ । ‘सबैको लागि स्वस्थ्य मिर्गौला’ भन्ने नाराका साथ आज विश्व मिर्गौला दिवस मनाइने भएको छ । नेपालमा सन् २००६ देखि हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार मिर्गौला उपचार केन्द्र काठमाडौँ वनस्थलीको आयोजनामा मिर्गौला दिवस मनाउन थालिएको हो । मिर्गौला उपचार केन्द्र वनस्थलीमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रका वरिष्ठ मिर्गौला रोग विशेष एवम् कार्यकारी निर्देशक प्राडा ऋषिकुमार काफ्लेले मिर्गौला रोगको सिघ्र पहिचान तथा यसको निदान नै आफ्नो मिर्गौला स्वस्थ्य राख्ने मूल मन्त्र भएको बताउनुभयो ।

मिर्गौला स्वस्थ्य राख्नका लागि सबैले एक दिनमा कम्तीमा तीन लिटर पानी पिउनुपर्ने, मधुमेह तथा उच्च रक्तचापलाई सन्तुलनमा राख्न सक्नुपर्नेमा जोड दिंदै प्राडा काफ्ले भन्नुभयो– धुमपानको आदत भएका, ५० वर्ष भन्दा बढी उमेर नाघिसकेका, मिर्गौलामा अन्य कुनै समस्या भएकाहरूलाई मिर्गौला रोगको खतरा बढी हुनेभएकाले हरेक वर्ष मिर्गौला परीक्षण गर्नु आवश्यक छ ।

मिर्गौला रोग लागिसकेपछि उपचारमा अत्यधिक खर्च लाग्ने भएकाले समयमै मिर्गौला परीक्षण गरी रोग लागेको नलागेको जानकारी लिनुपर्ने बताउँदै उहाँले खाना खाएको ३० मिनेटमा कम्तिमा १५ मिनेट हिडडुल गर्नुपर्ने, मोटोपनलाई हटाउनुपर्ने र सुविधा भोगी नबनी पर्याप्त मात्रामा व्यायाम गर्नुपर्ने बताउनुभयो । नेपालमा कुल जनसङ्ख्याको करिब १० प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको मिर्गौला रोग रहेको अनुमान गर्न सकिने उल्लेख गर्दै उहाँले त्यसमध्ये करिब १० हजार जना मिर्गौला रोगको अन्तिम अवस्थामा पुग्ने गरेको र करिब तीन हजार जना वार्षिक रुपमा थपिदै गएको अनुमान रहेको बताउनुभयो ।

राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा डाइलाइसिस गर्न आउने विरामीहरूको चाप अत्यधिक रहेको र हरेक दिन ४० वटा मेशिनबाट बिहानदेखि मध्य रातिसम्म उपचार सेवा सञ्चालन गर्दै आएको डा वर्षा श्रेष्ठले जानकारी दिनु भयो । हेल्थ केयर फाउन्डेसनका प्रमुख कृष्णप्रसाद आचार्यले मिर्गौलाका विरामीहरूको उपचारका लागि ठाउँको अभाव भएकाले भवन निर्माण गर्न आवश्यक जग्गाको व्यवस्था गरिदिन र सरकारले मिर्गौलाका विरामीहरूलाई डायलाइसिस गर्न छुट्याइएको रकम सिधै केन्द्रमा जम्मा गरिदिनका लागि आग्रह गर्नुभयो ।
Powered by Blogger.