Header Ads

घन्किन थाले होलीका गीत - भिडियो सहित

गौशाला, फागुन २१ । फागु पर्वको अवसरमा अहिले महोत्तरीको ग्रामीण र सहरी क्षेत्रमा होलीका गीत घन्किन थालेका छन् । गाउँ टोलमा हुने सामान्य कीर्तन होस् वा अन्य कुनै सांस्कृतिक कार्यक्रम अहिले होलीका गीतले स्थान पाउन थालेको छ ।

गाउँघरमा डेक, साउन्ड बक्स सुन्नेले पनि होलीको गीतलाई रोज्ने गरेका छन् । यसका अतिरिक्त महोत्तरीमा रहेका विभिन्न एफएमले पनि होलीका गीत प्रसारणलाई प्राथमिकता दिएका हुन् । सामाजिक सद्भाव बढाउने तथा हर्ष र रङ्ग अबिरको पर्वका रुपमा रहेको होलीलाई असत्यमाथि सत्यको जितको पर्वका रुपमा लिने गरिन्छ ।

 खासगरी बसन्त पञ्चमीका दिनदेखि फागु पूर्णिमासम्म होलीका गीत र त्यससँगै जोगिराले महत्व पाउने गरेका छन् । होलीका गीतका बीचमा दुई जनाबीच हुने व्यङ्ग्यात्मक तथा सन्देशमूलक लयपूर्ण वार्तालाई जोगिरा भन्ने गरिन्छ । अहिले ग्रामीण क्षेत्रमा पाँच सातजना भेला हुने बित्तिकै होलीका गीत सुरु हुने गरेको छ ।

ढोलक, मादकलगायतका वाद्यवादन सामग्री लिएर होलीका गीत सुरु हुनासाथ एक दुई गर्दै धेरै स्रोता र गायक जम्मा हुने गरेका छन् । तर, विगतको जस्तो होली गीत गाउनेको सङ्ख्या अहिले कम भएको छ । यद्यपि गाउन नआए पनि आधुनिक साधन प्रयोग गरेर पनि युवापुस्ता होलीका गीतप्रति आकर्षित भएका छन् भने, होलीका गीतमा अझै पनि माधुर्यता र सन्देश लुकेको छ जसले आपसी सद्भावलाई बढावा दिन्छ ।
Powered by Blogger.