सरकारले घटाएको यातायात भाडादर आजदेखि लागु गरिने
काठमाडौ, फागुन १८ । सार्वजनिक यातायातका साधनहरुमा घटाइएको भाडादर आजदेखि लागु गरिने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले केही दिनअघि सरोकारवालाहरुसँग छलफल गरी भाडादर घटाएको थियो ।
काठमाडौ उपत्यकामा २ दशमलव ३ प्रतिशत भाडा घटाइएकाले अबदेखि न्यूनतम १३ देखि अधिकतम २५ रुपैयाँसम्म मात्र लिन पाइन्छ ।
मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाका अनुसार ट्याक्सीमा १ दशमलव ६ र ट्रकमा ५ प्रतिशत भाडा घटाइएको र त्यो भाडादर आजदेखि लागु गर्नुपर्नेछ ।
तर यातायात व्यवसायीले भने वैज्ञानिक भाडादर कायम हुनुपर्ने भन्दै नयाँ भाडादर लागु गर्न असहमति जनाउँदै आएका छन् । लगातार पट्रोलियम पदार्थको मूल्य घटेपछि यातायात भाडा पनि घटाइएको थियो ।
