Header Ads

संविधानसभा अब प्रक्रियाबाटै, सभाध्यक्षद्वारा २३ गते बैठक आह्वान

काठमाडौं । दलहरूबीच संविधानका विवादित विषय र प्रक्रियामा सहमति जुट्न नसकेपछि सभाध्यक्ष सुवास नेम्बाङले चैत २३ गते संविधानसभाको बैठक बोलाएका छन्। उनले दलहरूलाई पछिल्लोपटक दिएको समयसीमा आइतबार पाँच बजेसम्म सहमति जुट्न नसकेपछि बैठक बोलाएका हुन्।

बैठक दिनको १ बजे बस्नेछ। त्यस दिनसम्म सहमति नजुटे संविधानसभा प्रक्रिया (मतदान) मा जाने संकेत सभाध्यक्षले दिएका छन्। सभाध्यक्षको यो निर्णयले एमाओवादी नेतृत्वको ३० दलीय मोर्चालाई सीमित विकल्पमा धकेलेको छ - संविधानसभाको प्रक्रियामा भाग लिने या बहिष्कार गर्ने। एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले सहमतिबाट निकास दिन सत्तापक्षले नचाहेको आरोप लगाए। उनले भने, 'अनिश्चितकालका लागि स्थगित संविधानसभाको बैठक चैत २३ गतेका लागि आह्वान गरिनु गलत भयो।' मोर्चाले आइतबार पनि संविधानसभा बैठक आह्वान नगर्न सभाध्यक्षलाई आग्रह गरेको थियो।

सभाध्यक्षले आन्दोलनका कार्यक्रम केही दिन पर सारेर वार्तामा केन्द्रित हुन राखेको सर्त मोर्चाले नमानेपछि बैठक डाकेका हुन्। 'मैले आज (आइतबार) पाँच बजेसम्म सहमति गर्न भनेर दलहरूलाई समय दिएको थिएँ', नेम्बाङले भने, 'सहमतिका लागि भन्दै संविधानसभा स्थगन गरेको डेढ महिनासम्म पनि दलहरूले सहमति गर्न नसकेपछि बैठक आह्वान गरेको हुँ।'

 नेम्बाङले प्रस्ताव निर्माण समितिले विवादित विषयको प्रश्नावलीसहित प्रतिवेदन सभामा पेस गरेपछि दलहरूकै आग्रहमा माघ २९ देखि संविधानसभा बैठक स्थगित गरेका थिए। '२३ गतेसम्म समय छ', नेम्बाङले भने, 'संविधानसभाको प्राथमिकता भनेको दलहरूबीच सहमति हो।' समयसीमाभित्र सहमति नभएपछि नेम्बाङले साँझ पौने ६ बजे संविधानसभा बैठकको मिति तोकेका थिए।

 त्यसअघि उनले विभिन्न दलका प्रमुख सचेतक र नेतासँग टेलिफोन सम्पर्क गरेका थिए। तर कतैबाट पनि सकारात्मक सन्देश आएन। 'बैठक डाके पनि कार्यसूची तोकिएको छैन', नेम्बाङले भने, 'दलहरूले विषयमा सहमति गरून्। विषयमा नभए प्रक्रियामा सहमति गरून्। त्यसअनुसार संविधानसभा अघि बढ्छ।' दलहरूबीच सहमति नभए मतदान प्रक्रिया अघि बढ्ने संकेत नेम्बाङले गरे। 'सहमति भएन भने संविधान, नियम र स्थापित अभ्यासअनुसार संविधानसभा अघि बढ्छ', नेम्बाङले भने। सत्तासीन गठबन्धनसँग दुई तिहाइ बढी संख्या छ ।
Powered by Blogger.