Header Ads

बलात्कारीलाई फाँसीको सजाय व्यवस्था गर्न माग, यस्तो छ आक्रोश

काठमाडौ, फागुन २७ । सडकमा राखिएको बलात्कृत छोरीको शव छेउमै बसेका बाबु नारायण साहले रुँदै भने, ‘बलात्कारीलाई फाँसीको सजाय नभएसम्म म छोरीको शव यहाँबाट उठाउँदिनँ। राज्यले बलात्कारीलाई फाँसी दिने व्यवस्था कानुनमा गरोस्। यस्तो व्यवस्था नभएसम्म म शव जलाउँदिनँ।’ बेटी बचाउ संघर्ष समितिले पनि कानुनमा बलात्कारीलाई फाँसीको सजाय हुने व्यवस्था नभएसम्म शव सडकमै राख्ने निर्णय गरेको छ।

फागुन ९ गते बलात्कारपछि अचेत अवस्थामा फेलापरेकी कलैयाकी सात वर्षीया ती बालिकाको काठमाडौंको कान्ति बाल अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको थियो। उनी कलैयामा फागुन ९ गते बिहान निर्वस्त्र र अचेत अवस्थामा फेलापरेकी थिइन्। शव कलैया पुर्‍याइएपछि संघर्ष समितिले मंगलबार दिनभर शवसहित नगर परिक्रमा गरेर प्रदर्शन गर्‍यो। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयअगाडिको सडकमा शव दिनभर राखेर प्रदर्शन गरेको समितिले साँझदेखि भने शव भरतचोकमा पाल टाँगेर राखेको छ। प्रदर्शनमा कलैयाका सर्वसाधारण, महिला, युवा, विद्यार्थी, राजनीतिक दलका नेता र कार्यकर्तासहित हजारौं सहभागी थिए। प्रदर्शनकारीले मंगलबार अपराह्न सवा २ बजेदेखि कलैयाबजार पनि बन्द गराएका थिए।

कानुनमा बलात्कारीलाई फाँसीको सजायको प्रावधान नगरिएसम्म दाहसंस्कार नगरिने संघर्ष समितिका सचिव मुकेश साहले बताए। बालिकाका अभिभावककै सहमतिमा यस्तो निर्णय गरिएको उनको भनाइ थियो। ‘अब कसैका छोरीले पनि बलात्कारको सिकार हुनु नपरोस् भनेर हामीले यस्तो कठोर निर्णय गरेका हौं’, मुकेशले भने, ‘माग पूरा नहुन्जेल हामी शव सडकमै राख्छौं।’ नारायणले भने, ‘मेरी छोरी त मरी। अब अरू छोरीहरूले यसरी मर्नु नपरोस् भनेर यस्तो निर्णय लिएका हौं। बलात्कारीलाई फाँसीको सजाय व्यवस्था होस्। अब कसैले बलात्कारको कुरा सोच्ने पनि दुस्साहस नगरोस्।’

संघर्ष समितिले गृहमन्त्री वामदेव गौतमको राजीनामा पनि मागेको छ। प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले स्थलगत अनुसन्धान गर्नुपर्ने, बलात्कारपीडित परिवारलाई क्षतिपूर्ति जनही १० लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने, कलैया नगर क्षेत्रमा सीसी क्यामेरा जडान गर्नुपर्नेलगायत सातबुँदे माग राखिएको समितिका अध्यक्ष रहेका पूर्वसभासद् प्रमोद गुप्ताले बताए। सिमरामा पनि मंगलबार दिउँसो स्थानीयवासीले शवसहित प्रदर्शन गरेका थिए। बारामा क्रियाशील विभिन्न राजनीतिक दल, तिनका भ्रातृ संगठन, महिला अधिकारवादी संघसंगठनसहितको टोलीले बलात्कारीलाई कारबाही गर्न माग राख्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन्।

बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले फागुन १० गते कलैया ४ निवासी २८ वर्षीय कन्हाई गुप्तालाई पक्राउ गरिसकेको छ। उनले रक्सीको नसामा आफूबाट गल्ती भएको स्वीकार गरेको जानकारी बाराका प्रहरीउपरीक्षक लोकेन्द्रबहादुर मल्लले दिए। बाराका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले पीडित परिवारलाई क्षतिपूर्तिका लागि सिफारिस गरिने बताए। ‘कानुन संशोधनको कुरा मेरो क्षेत्राधिकारभन्दा बाहिर हो’, पन्थीले भने, ‘मैले उहाँहरूको माग माथिल्लो निकायमा जानकारी गराइसकेको छु।’ कलैयामा पछिल्लो ११ महिनामा दुईजना बालिकाको बलात्कारपछि हत्या, एक बालिकाको बलात्कार र एक बालकको हत्या भएको छ।
राजधानीमा पनि आक्रोश
बलात्कारीलाई कडा कारबाही माग गर्दै राजधानीमा पनि मंगलबार प्रदर्शन भएको छ। माइती नेपाल, विभिन्न अधिकारकर्मी संस्था र विद्यालयका बालबालिकाले प्रदर्शन गरेका हुन्। बारामा बलात्कृत बालिकाको कान्ति अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि शब गृहजिल्ला लैजाने क्रममा चर्को आक्रोशसहित प्रदर्शन गरिएको हो।
Powered by Blogger.