Header Ads

प्रचण्डले आफू पढेको विद्यालयलाई ११ लाख आर्थिक सहयोग गर्ने घोषणा

चितवन, फागुन १९ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले पढेको चितवनको शिवनगरस्थित नारायणी विद्या मन्दिरलाई ११ लाख आर्थिक सहयोगको घोषणा गरेका छन् ।

उनले विद्यालयको स्वर्णजयन्तीको आफूले संविधानसभामा सदस्य रहेवापत प्राप्त हुने तलब–भत्ताको रकमबाट उक्त सहयोग गरेको बताइएको छ । नारायणी विद्या मन्दिरको स्वर्ण महोत्सव कार्यक्रममा सहभागी हुनुअघि प्रचण्डले अनेरास्ववियु (क्रान्तिकारी) मूल एकाइ समिति रामपुरले मङगलबार आयोजना गरेको स्वागत तथा बृहत् सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

सो कार्यक्रममा उनले संघीयता बिरोधी तत्व सलवलाएको भन्दै तिनीहरूलाई तह लगाउनु अनिवार्य भएको बताएको थिए । यथास्थितिवादीहरुले हिजोका आन्दोलनको प्राप्तिलाई धरापमा पार्न खोजेको उल्लेख गर्दै प्रचण्डले भने– ‘संविधानसभाबाट संविधान बनाउन हामी लागिपरेका छौं तर यसलाई उल्ट्याउन विरोधी तत्वहरु सक्रिय रहेका छन् ।

उनीहरुले जेजस्ता प्रयत्न गरे पनि अन्तिम जित हाम्रै हुने छ, जनताकै हुने छ ।’ उनले भने– ‘हामी वार्ताकै पक्षमा छौँ । मलाई विश्वास छ, वार्ता र सहमतिबाटै समाधान निस्कन्छ ।’ क्रान्तिकारी कार्यक्रमलगत्तै अध्यक्ष प्रचण्ड शिवनगरस्थित नारायणी विद्या मन्दिरको स्वर्ण महोत्सव कार्यक्रममा सहभागी छन् ।

यसैबीच महोत्सवको उद्घाटन गर्न पुगेका अध्यक्ष र प्रधामन्त्री सुशील कोइरालाबीच भेटघाट भएको छ । भेटघाटका वार्ता प्रक्रिया र जारी राजनीतिक गतिरोध फुकाउने विषयमा छलफल भएको बुझिएको छ ।
Powered by Blogger.