Header Ads

भारतलाई ९५ रनले पराजित गर्दै अस्ट्रेलिया विश्वकप क्रिकेटको फाइनल प्रवेश

काठमाडौँ, चैत्र १२ । साविक विजेता भारतलाई ९५ रनले पराजित गर्दै अस्ट्रेलिया विश्वकप क्रिकेट प्रतियोगिता एघारौँ संस्करणको फाइनलमा प्रवेश गरेको छ । उपाधि लागि आइतबार अस्ट्रेलियाले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । अस्ट्रेलियास्थित सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाएर ३२९ रनको चुनौती पेस गरेको थियो ।

यसअघि समूह चरणको खेलमा न्युजिल्यान्डले अस्ट्रेलिया माथि १ विकेटको रोमाञ्चक जित हात पारेको थियो । प्रतियोगितामा अस्टे«लियाका ओपनर डेभिड वार्नर १२ रनमा आउट भए, जतिबेला अस्ट्रेलियाले मात्र १५ रन बनाएको थियो । तर, आरोन फिन्च र स्टिभ स्मिथले अस्ट्रेलियाको पारी सम्हाले । फिन्च र स्मिथले दोस्रो विकेटका लागि १८२ रनको साभेदारी गर्दै अस्ट्रेलियाको पारी उकासेका थिए ।

१०५ रनमा आउट भएका स्मिथले ९३ बलको सामना गर्दै ११ चौका र २ छक्का हाने । फिन्च र ग्लेन म्याक्सवेलले ३५ रनको साझेदारी गरे । म्याक्सवेल २३ रन र एरोन फिन्च ८१ रनमा पभेलिन फर्किए । अस्ट्रेलियाका कप्तान माइकल क्लार्क पनि मात्र १० रनमा आउट भए । म्याक्सवेल, फिन्च र क्लार्कको विकेट लगातार झर्दा अस्ट्रेलियाको रनको गति केही सुस्त भएको थियो तर, अन्तिम ओभरमा मिचेल जोनसन र फल्कनरले केही ठूलो सर्ट खेलेर अस्ट्रेलियाको पारी ३०० कटाए ।

जेम्स फल्कनरले १२ बलमा २१ रन तुफानी पारी खेले । मिचेल जोनसन ९ बलमा चार चौका र एक छक्काको मदतमा २७ रनमा अविजित रहे । ब्राड हेडिल ७ रनमा अविजित रहे । बलिङतर्फ भारतका लागि उमेश यादवले ४ विकेट लिए भने मोहित शर्माले २ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको भारत ४६.५ ओभरमा २३३ रन जोड्दा अल आउट भयो । अस्ट्रेलियाका लागि बलिङतर्फ जेम्स फौकनर ३ विकेट, मिचेल स्टार्क २ विकेट, मिचेल जोनसन २ विकेट र हेजलहुडले १ विकेट लिए ।
Powered by Blogger.