किर्किस्थान हिँडेका दुई युवतीसहित सात पक्राउ
भीमदत्तनगर । रोजगारीका लागि किर्किस्थान जान लागेको भन्दै हिँडेका दुई युवतीसहित शङ्कास्पद सात जनालाई आज बिहान प्रहरीले पश्चिमी नाका गड्डाचौकीबाट नियन्त्रणमा लिएको छ ।
काठमाडौँ–दिल्ली रुटमा चल्ने बसमा सवार सिन्धुपाल्चोक मार्मिङ गाविस–२ का २१ वर्षीया धनमाया तामाङ र मोरङ सुन्दरपुर–६ का १९ वर्षीया सुस्मिता राई र धनमायाका भाइ दावाछिरिङ तामाङलाई सोधपुछका क्रममा शङ्का लागेपछि इलाका प्रहरी कार्यालय गड्डाचौकीको टोलीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरी नियन्त्रणमा लिइएका सात जनालाई सार्वजनिकसमेत गरेको छ । पत्रकार सम्मेलनमा सुस्मिताले गाउँका हुसेन राई नाम गरेका युवकले किर्किस्थान रोजगारीका लागि पठाइदिने भन्दै आफूहरुबाट रु दुई÷दुई लाखसमेत असुल गरेको जानकारी दिनुभयो । त्यसैगरी धनमायाका भाइ दावाले आफ्नो दिदीलाई भारतको राजधानी दिल्लीसम्म पु¥याउन हिँडेको बताउनुभयो ।
“कहाँ जाने, कसरी जाने, कसले लाने भन्नेबारे कुनै जानकारी यिनीहरुसित छैन”, जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्व नीरञ्जन प्रधानले भन्नुभयो, “काठमाडौँको स्वयम्भूमा रहेको ओम टुर एण्ड ट्राभल्सले टिकट काटेको छ ।” त्यसैगरी तीनजनासँगै सिन्धुपाल्चोक मार्मिङ गाविस–७ का ५७ वर्षीय सोनाम धर्के तामाङसहित उहाँकी छोरी, छोरा र बुहारीलाई समेत नियन्त्रणमा लिएको छ । सोनामकी छोरी पासाङल्हामु तामाङ, भाइको छोरा र बुहारी ग्यागेङ तामाङ र पूजा तामाङलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी प्रमुख प्रधानले सातैजनाको एउटै टुरले टिकट काटेको र उनीहरुले एकआपसमा परिचित नभएको प्रतिक्रिया दिएपछि थप शङ्का लागेको बताउनुभयो । “यी सबैलाई एजेन्टमार्फत अन्यत्रै लग्न खोजिएको जस्तो छ”, उहाँले भन्नुभयो, “किर्किस्थान जानेलाई सम्झाएपछि घर फर्किन तयार भए ।” पत्रकार सम्मेलनमा सुस्मिताले आफूहरुलाई किर्किस्थानमा मासिक रु ३० हजार पारिश्रमिक पाउने प्रलोवनमा दिल्ली भएर लैजान लागेको बताउनुभयो ।
प्रहरी उपरीक्षक प्रधानले नियन्त्रणमा लिइएकाले दिएको टुर र होटल दुवैले फोन गर्दा नउठाएको बताउनुभयो । प्रहरीले माइती नेपालमार्फत नियन्त्रणमा लिइएका सातैजनालाई घर फर्काउने जनाएको छ ।
