तेजाव आक्रमणकारीको खोजीमा ९५ प्रतिशत सफल भएको दावी - वामदेव
काठमाडौ, फागुन १८ । राजधानीमा दुई छात्रामाथि तेजाव खन्याउने आक्रमणकारीको खोजीमा नेपाल प्रहरीलाई ९५ प्रतिशत सफलता मिलेको गृह मन्त्रालयले दाबी गरेको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले यही फागुन १० गते राजधानीमा दुई छात्रामाथि तेजाव खन्याउने आक्रमणकारीको व्यापकरुपमा खोजी भइरहेको र मोबाइलमा भएको कुराकानी तथा अन्य सूचनाका आधारमा प्रहरी आक्रमणकारीको ९५ प्रतिशत नजिक पुगेको जानकारी गराउनुभयो ।

व्यवस्थापिका–संसदअन्तर्गतको राज्यव्यवस्था समितिको आजको बैठकमा सांसदहरूले सो घटनाका दोषी हालसम्म किन पक्राउ नपरेको भनी प्रश्न गरेपछि गृहमन्त्री गौतमले घटनाको दोषीको खोजीमा भइरहेको प्रगतिबारे जानकारी गराउँदै दोषी छिट्टै पक्राउ पर्ने विश्वास दिलाउनुभयो । मुलुकको शान्ति सुरक्षाका सम्बन्धमा जातीय, क्षेत्रीय र धार्मिक राजनीति गर्ने राजनीतिक दल तथा विभिन्न समूहबाट ठूलो चुनौती सिर्जना भएको उल्लेख गर्दै गृहमन्त्री गौतमले एकीकृत नेकपा ९माओवादी० नेतृत्वको मोर्चा, नेकपा–माओवादीका साथै पूर्वी तराई र पहाडमा सक्रिय विभिन्न राजनीतिक र आपराधिक समूहका गतिविधिले पनि सुरक्षामा चुनौती थपिएको बताउनुभयो ।
समितिको बैठकमा सांसदहरूले प्रहरीमा भर्ना, सरुवा र बढुवा प्रक्रियामा आर्थिक र राजनीतिक विवाद हुने गरेको आरोप लगाएपछि गृहमन्त्री गौतमले सबै प्रक्रिया नियम कानुन र प्रणालीभित्र रहेर हुने गरेको स्पष्ट पार्नुभयो । सांसदहरुले मुलुकमा बालबालिका बलात्कारका घटनामा उल्लेख्य वृद्धि भएको र अपराधमा नयाँनयाँ प्रवृति बढेकाले समयानुकूल कानुनमा परिमार्जन र नयाँ कानुनको निर्माण गर्नुपर्ने सुझाव दिँदै कुनै पनि अपराधीलाई राजनीतिक आवरणमा उन्मुक्ति दिन नहुने बताउनुभएको थियो ।
दैवी विपत्तिका सम्बन्धमा सांसदहरूले सरकारको तयारी र पुनःस्थापनाको कार्य कमजोर रहेको गुनासो गर्दै आपतकालीन र मौसमी विपत्तिको पूर्व तयारीका लागि सरकारले अहिले नै तयारी गर्नुपर्ने आग्रह गर्नुभयो । बैठकमा समिति सभापति दीलबहादुर घर्तीले मुलुकमा शान्ति सुरक्षा कायम गर्दै आमजनतामा त्यसको अनुभूति गराउन सबैलाई विश्वासमा लिएर आपराधिक समस्या समाधान गर्न उपप्रधान तथा गृहमन्त्रालयलाई निर्देशन दिनुभयो । मुलुकमा देखिएका समस्या समाधानका लागि आपराधिक घटनालाई राजनीति र आपराधिकरुपमा वर्गीकरण शान्ति सुरक्षा र अमनचयन कायम गर्न वस्तुनिष्ठ सूचना सङ्कलन गरी सोहीअनुसार समस्या समाधान गर्न समितिले गृहमन्त्रीलाई निर्देशन दिएको छ ।
शान्ति सुरक्षामा सुधार गर्न आवश्यक रणनीति र कार्यनीतिसहितको योजना तर्जुमा गरी प्रहरी सेवालाई जनताको सेवक र मित्रको रुपमा स्थापित गराउँदै अवान्छनीय कार्यलाई तत्काल रोकथाम गरी आम जनतालाई विश्वस्त तुल्याउन समितिले मन्त्रालयलाई निर्देशन गरेको छ । बैठकमा गृह सचिव सूर्यप्रसाद सिलवाल, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललगायत पदाधिकारी उपस्थित हुनुहुन्थ्यो ।
