Header Ads

प्रधानमन्त्री नेतान्याहु निर्वाचनमा पुन: विजयी

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार निर्वाचनमा आश्चर्यजनक रूपमा तेस्रो कार्यकालका लागि विजय हासिल गर्नुभयो । यस निर्वाचनमा उहाँले प्यालेस्टाइनीसँग तनाव अझै गहन बनाउनुभएको छ भने सहयोगी वासिङटनलाई क्रुद्ध बनाउनुभएको छ । निकै प्रतिस्पर्धा रहेको यस निर्वाचन अभियानमा नेतान्याहुको दक्षिणपन्थी लिकुड पार्टीले अभिमत सर्वेक्षणहरूलाई गलत प्रमाणित गरी १२० स्थानको संसदमा ३० स्थान प्राप्त गरेको छ भने मध्यबामपन्थी जायनिस्ट युनियनले २४ स्थान प्राप्त गरेको छ । प्रधानमन्त्री नेतान्याहुले यस निर्वाचनलाई सबै प्रकारका बाधाविरुद्ध विजयको रूपमा लिनुभएको छ । उहाँले आफूलाई एकपटक पुनः इजरायलको राजनीतिक अस्थिरताका ज्ञाताको रूपमा प्रमाणित गर्नुभएको छ ।

 यस निर्वाचन अभियानमा इजरायलको प्यालेस्टाइन तथा अमेरिकी प्रशासनसँग बिग्रिएको सम्बन्ध अझै बिग्रिने अनुमान गरिएको छ । वर्तमान कडा प्रधानमन्त्री नेतान्याहुले निर्वाचन अभियानलाई अझै दक्षिणतर्फ धकेल्नुभएको थियो । यस निर्वाचनले आधारभूत परिवर्तन ल्याउनसक्छ भन्ने कुरामा कमै भ्रम राखेका प्यालेस्टाइनी जनताले अर्को नेतान्याहु सकारले उनीहरूलाई यसअघि अगाडि बढाइएको राज्यका लागि कूटनीतिक अभियानलाई अझै अगाडि बढाउन अभिप्रेरित गर्ने बताएका छन् । प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनका अधिकारी यासेर अबेद राबोले इजरायले जातिवाद, नियन्त्रण तथा बसोबास निर्माणको मार्ग लिएको र आफूहरूसँग वार्ता तथा साझेदारीको मार्ग नलिएको बताउनुभयो ।

 प्यालेस्टाइनका प्रमुख वार्ताका साएब एराकातले सबै प्रकारका कूटनीतिक प्रयासलाई गति दिने तथा गहन बनाउने तथा इजरायलविरुद्ध हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा युद्ध अपराधका विषयमा निवेदन दर्ता गर्न तत्कालै पाइला चालिने बताउनुभयो । इजरायली प्रधानमन्त्री नेतान्याहुले यस अभियानमा सुरक्षालाई प्रमुख प्राथमिकता दिनुभएको थियो । उहाँले इरानलाई पारमाणविक हतियार लिएर इजरायललाई चेतावनी दिननसक्ने तथा प्यालेस्टाइनलाई पूर्वी जेरुसेलममा राजधानी बनाउननदिने कुरा गर्ने सक्षम व्यक्ति आफू मात्रै भएको दाबी गर्नुभएको थियो । दक्षिणपन्थी अडानका लागि उहाँले अन्तिम समयमा आफू पुनः निर्वाचित भए प्यालेस्टाइन राज्य स्थापना गर्न नदिने दाबी गर्नुभयो । उहाँले सन् २००९ मा दुई राज्यको समाधानलाई स्वीकार गर्नुभएको थियो । उहाँले जेरुसेलमको पूर्वी भागमा प्यालेस्टाइनलाई थप छुट नदिन यहुदीको बसोबासका लागि हजारौँ घर बनाउने बचन दिनुभएको छ ।

यसको विपरीत जायनिस्ट युनियनका नेता आईज्याक हर्जोगले द्वन्द्व अन्त्य गर्न प्यालेस्टाइनसँग वार्ता पुनः आरम्भ गर्ने बताउनुभएको थियो । तेल अभिभमा हर्जोगले आफ्नो पराजय स्वीकार गर्दै प्रधानमन्त्रीलाई तेस्रो कार्यकालका लागि विजय भएकोमा वधाइ दिनुभयो । प्रधानमन्त्री नेतान्याहुले आउँदो दुईदेखि तीन सातामा नयाँ सरकार गठन गर्ने उहाँको दलले जानकारी दिएको छ । उहाँले दक्षिणपन्थी तथा धार्मिक नेताहरूसँग वार्ता गरिसक्नुभएको जानकारी दिइएको छ । बहुमतको गठबन्धन सरकार गठन गर्न उनीहरूको समर्थन आवश्यक छ । इजरायली कानुनअनुसार निर्वाचनको अन्तिम नतिजा मतदान भएको आठ दिनभित्र प्रकाशन गर्नुपर्छ । केन्द्रीय निर्वाचन समितिका प्रवक्ताले नतिजा बिहीबार अपरान्ह सार्वजनिक हुने जानकारी दिएका छन् । यस बिन्दुबाट राष्ट्रपति रेयुभेन रिभ्लिनले सात दिनभित्र एक दलका नेतालाई अर्को सरकार गठन गर्न आदेश दिनुपर्छ । प्रधानमन्त्री नेतान्याहु त्यस्ता नेता हुने निश्चत छ ।

 राष्ट्रपतिका कार्यालयका एक प्रवक्ताले राष्ट्रपतिले इजरायललाई सकेसम्म छिटो सरकार आवश्यक भएको स्पष्ट पार्नुभएको र उहाँ पार्टीका प्रतिनिधिसँग सकेसम्म छिटो परामर्श आरम्भ गर्न इच्छुक हुनुभएको जानकारी दिए । इजरायलको निर्वाचन प्रणालीमा सबैभन्दा बढी स्थान प्राप्त गर्ने दलका नेतालाई नभएर संसदमा ६१ भन्दा बढी स्थान प्राप्त गर्ने गठबन्धन तयार गर्ने व्यक्तिलाई प्रधानमन्त्री बनाइन्छ । प्रधानमन्त्री नेतान्याहुले दक्षिणपन्थी गठबन्धन तयार गर्नुहुने देखिएको छ र उहाँलाई इजरायलको पछिल्ला प्रभावशाली नेता मोसे काहलोनको समर्थन आवश्यक पर्नेछ । उहाँको मध्यदक्षिणपन्थी नयाँ कुलानु दलले संसदमा १० स्थान प्राप्त गरेको छ । उहाँ लिकुडबाट पलायन हुनुभएको थियो ।

 गत साता प्रकाशन भएका पछिल्ला अभिमत सर्वेक्षणमा जायनिस्ट युनियन पार्टीले लिकुडले भन्दा चार स्थान बढी प्राप्त गर्ने अनुमान गरिएको थियो तर निर्वाचनको नतिजाले सबैलाई आश्चर्यमा पारेको छ । जेरुसेलमको हेब्रु विश्वविद्यालयका संवैधानिक कानुनका विशेषज्ञ क्लाउड क्लेइनले नेतान्याहुले अन्तिम चरणलाई व्यवस्थापन गर्नुभएको जानकारी दिनुभयो । प्रमुख अरब पार्टी ज्वाइन्ट लिस्टले यस निर्वाचनमा १४ स्थान विजय हासिल गरेको छ भने उसले आफूलाई संसदमा तेस्रो स्थान दिलाएको छ ।-एजेन्सीको सहयोगमा
Powered by Blogger.