Header Ads

विश्वकप क्रिकेटः बंगलादेशले स्कटल्याण्डको सामना गर्दै

काठमाडौ, फागुन २१ । बंगलादेशले समूहगत चरणको अन्तिम दुई खेलमा बलिया टोलीहरू इङल्यान्ड र न्युजिल्यान्डको सामना गर्नु पर्नेछ। बंगलादेशले त्यसअघि आज एसोसिएट टोली स्कटल्यान्डसँग खेल्नेछ। क्वार्टफाइनल पुग्ने आशा कायम रा न बंगलादेशलाई यो खेलमा जित्नै पर्ने दबाब रहेको छ। बंगलादेशले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो। दोस्रो खेल वर्षाका कारण रद्द भएपछि अस्ट्रेलियासँग अंक बाँड्न सफल भएको थियो। बंगलादेश आफ्नो तेस्रो खेलमा श्रीलंकासँग ९२ रनले पराजित भएको थियो।

बंगलादेशले समूहगत चरणका बाँकी तीन खेलमध्ये दुई खेलमा जित हात पार्न सकेमात्र क्वार्टरफाइनल पुग्ने सम्भावना रहन्छ। बंगलादेश लामो समयदेखि एसोसिएट राष्ट्रमाथि हावी हुँदै आएको छ। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा स्कटल्यान्डले बंगलादेशलाई हराउन सकेको छैन। सन् २०१२ मा भएको एउटा टिट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा भने स्कटल्यान्डले बंगलादेशलाई हराउन सफल भएको थियो।

स्कटल्यान्डले अघिल्लो खेलमा जित नजिक पुगेर पनि अफगानिस्तानसँग एक विकेटको हार व्यहोरेको थियो। स्कटल्यान्डले विश्वकप क्रिकेटमा हालसम्म जित हात पार्न सकेको छैन। समूहगत चरणको अन्तिम दुई खेलमा श्रीलंका र अस्ट्रेलियासँग भिड्नुपर्ने भएकाले स्कटल्यान्डलाई विश्वकपमा जित हात पार्न बिहीबार बंगलादेशविरुद्व हुने खेल गतिलो अवसरका रूपमा रहेको छ। बंगलादेशको स्पिन र स्कटल्यान्डको फास्ट बलिङ प्रभावशाली देखिएको छ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटका पछिल्ला पाँच खेलमा बंगलादेशले चार जित र एक हारको नतिजा निकालेको छ। यसैगरी स्कटल्यान्डले एक जित र चार हारको नतिजा निकालेको छ। ‘श्रीलंकासँग हारेपछि आत्मविश्वास पनि घटेको छ तर, स्कटल्यान्डमाथि सहज जितको अपेक्षा गरेका छौं। उक्त जितले इङल्यान्डविरुद्व हाम्रो मनोबल उच्च बनाउनेछ’, बंगलादेशका कप्तान मसरफ मोर्ताजाले भने।

यसैगरी स्कटल्यान्डका कप्तान प्रेस्टन मोम्सेनले आफूहरू बंगलादेशविरुद्व उत्कृष्ट एसोसियट राष्ट्रका रूपमा प्रस्तुत हुने बताए। ‘हामीले खेल्न लागेको मैदानमा आयरल्यान्डले वेस्टइन्डिजलाई हराएको थियो। हामी पनि उत्कृष्ट एसोसियट राष्ट्र बन्ने सक्दो प्रयास गर्नेछौं’, मोम्सेनले भने।-एजेन्सी
Powered by Blogger.