Header Ads

फलामलाई सुन बनाएर बेच्दै हिँड्ने दम्पती प्रहरी खोरमा

काठमाडौं,चैत १५ । सुन भन्दै फलामको टुक्रा बेचेर १५ लाख रुपैयाँ ठगी गर्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ ।

लामाटार ६ ललितपुरका ५८ वर्षीय रामबहादुर थापा भुजेल र उनकी ३५ वर्षीया श्रीमती धनमाया बास्तोला भुजेललाई महानगरीय अपराध महाशाखाले ललितपुरबाट शुक्रबार पक्राउ गरेको हो ।

सस्तोमा सुन दिने भन्दै रुमालमा फलामको टुक्रा बेरेर दिई उनीहरुले ठगी गरेका थिए । पोखराबाट काठमाडौं एउटै बसमा यात्रा गर्दा चिनजान भएकी कलंकीकी विनिता परियारलाई उनीहरुले ठगी गरेको प्रहरीले जनाएको छ । परियारलाई बहिनीको नाता लगाएर उनीहरु नजिकिएका थिए ।

‘हाम्रो संगत गरे छिट्टै प्रगति हुन्छ’ भन्दै उनीहरुले सुन बिक्रीको प्रस्ताव राखेका थिए । उनीहरुले सस्तोमा धेरै सुन बिक्री गर्ने र सुन पसलमा पुर्याएर बेच्दा धेरै नाफा हुने भन्दै १५ लाख लिएका थिए ।

रुमालमा फलामको टुक्रा बेरेर दिई उनीहरुले पैसा लिएका हुन् । घरमा पुगेर मात्रै सुन हेर्ने भन्दै उनीहरु ठगी गरी फरार भएका थिए, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Powered by Blogger.