रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै आफ्नो तलबमा १० प्रतिशत कटौती गरेका छन् । तर, यो भन्दा पनि अन्य मुलुकका राष्ट्रपति वा प्रधानमन्त्री कसको तलब कति छ भन्ने विषय चाखलाग्दो छ । पछिल्लो आधिकारिक तथ्यांक र अमेरिकी डलरको वर्तमान मूल्यलाई आधार मानेर यहाँ केही विकसित तथा उदीयमान राष्ट्रका राष्ट्रपति र प्रधानमन्त्रीको तलब प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामा देशको अर्थतन्त्र विश्वकै ठूलो भएजस्तै तलब बढी खानेमा पनि अगाडि देखिएका छन् । ओबामाले तलब बापत वार्षिक ४ लाख डलर बुझ्ने गरेका छन् । अमेरिकामा सन् २००१ मा जर्ज डब्लु बुस राष्ट्रपति भएपछि तलब दोब्बर पारिएको थियो । यसका अतिरिक्त ओबामाले ५० हजार डलरको करमुक्ति खर्च पाउने प्रावधान छ ।

बढी तलब खाने दोस्रो स्थानमा क्यानडाका स्टेफेन हार्पर देखिएका छन् । उनको तलब २ लाख ६० हजार छ । २ लाख ३४ हजार ४ सय डलरसहित बढी तलब खानेमा जर्मनीका चान्सलर उंगेला मर्केल तेस्रो स्थानमा छिन् ।
विकसशील मुलुक भए पनि धेरै तलब खानेमा दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमा छन् । उनको तलब २ लाख २३ हजार ५०० डलर छ ।
बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुन यो मामिलामा पाँचौं स्थानमा छन् । उनले वार्षिक २ लाख १४ हजार ८०० डलर बुझ्दै आएका छन् ।
विश्वकै ठूलो अर्थतन्त्र भए पनि जापानी प्रधानमन्त्री सिन्जो अबेको तलब छैटौं बढी छ । उनको वार्षिक तलब २ लाख २ हजार ७०० डलर छ ।

रुसको आर्थिक संकट गहिरिएपछि आफ्नै तलबमा १० प्रतिशत कटौती गरेका पुटिनले वार्षिक २ लाख ३६ हजार डलरको तलब लिँदै आएका छन् । उनको यो तलब कटौती पछिको हो ।
बढी तलब खाने मामिलामा इटालीका माटिओ रेन्जी नवौँ स्थानमा छन् । उनले वार्षिक १ लाख २४ हजार ६०० डलर तलब बुझ्दै आएका छन् । दसौं स्थानमा ब्राजिलकी राष्ट्रपति डिल्मा रौसेफ छिन् । उनले वार्षिक १ लाख २० हजार डलर तलब ुझ्दै आएकी छन् । पछिल्ला केही वर्षहरुका ब्राजिलले तीव्र दरकै आर्थिक वृद्धि हासिल गर्दै आएको छ ।

विश्वकै सदस्य राष्ट्र र प्रमुख अर्थतन्त्रमा चीनपछि दोस्रो तीव्र दरको आर्थिक वृद्धि हासिल गर्दै आएको मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले वार्षिक ३० हजार डलर तलब लिने गरेका छन् । उनको यो तलब विश्वकै दोस्रो ठूलो अर्थतन्त्रमध्ये सबैभन्दा तीव्र दरको आर्थिक वृद्धि हासिल गरेको चीनका राष्पितिको भन्दा बढी हो ।
चीनका राष्ट्रपति सी जिनपिङको तलब भने वार्षिक २२ हजार डलर मात्रै छ । यो पनि यो वर्षकै सुरुमा भउको ६० प्रतिशत वृद्धिपछि हो ।
कारोबार दैनिकमा खबर छ ।