आज विश्व पानी दिवस मुलुकभर मनाइँदै
काठमाडौँ, चैत ८ । पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विश्व पानी दिवस आज मुलुकभर मनाइँदै छ ।
जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पेयजलको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी नियकाय र विभिन्न सामाजिक सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गरिरहेका छन् ।
सहरी विकास मन्त्रालय र जल तथा ऊर्जा आयोगको अगुवाइमा देशका विभिन्न स्थानमा विश्व पानी दिवससम्बन्धी कार्यक्रम गत मङ्गलबारदेखि ‘जल सप्ताह’ अन्तर्गत सञ्चालन भइरहेका छन् । ‘नेपालमा दिगो विकासका लागि पानी’ नाराका साथ सञ्चालित ती कार्यक्रममा उपभोक्ताका साथै सरसफाइ तथा खानेपानीको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको उत्साहजनक सहभागिता छ ।
विश्वभर पानीका स्रोत क्रमशः सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र अग्रसर हुनुपर्नेमा जोड दिँदै राष्ट्रसङ्घीय वातावरण तथा विकास महासभाले सन् १९९२ को मे २२ तारिख अर्थात् आजकै दिन विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो । यसलाई संरक्षण गर्ने चेतना अभिवृद्धि गर्नका लागि सन् १९९३ मार्च २२ देखि प्रत्येक बर्ष पानी दिवस मनाउने गरिएको छ ।
दिवसको अवसरमा पानी संरक्षणको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाले पानीका मुहान र जलधार क्षेत्रको संरक्षण गर्ने विषयमा चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाउँदैछन् । ब्राजिलपछिको जलसम्पदामा विश्वकै धनी देश नेपाल भएपनि वन विनाश र जलवायु परिवर्तनका कारण पानीका मुहानहरु सुक्न थालेका छन् ।
