सावधान ! होलीको लोलाले जेल जानुपर्ला, जथाभावि रंग दल्ने र लोला हाल्नेलाई २ बर्ष जेल हुने

यसपालीको होली पहाडी जिल्लामा आउँदो २१ गते र तराइका जिल्लामा २२ गते परेको छ । होलीलाई लक्षित गरी प्रहरी प्रशासनले निगरानी बढाएको छ । यदी कसैले जथाभावि रंग दल्ने र लोला हानेर दुःख दियो भने प्रहरीले सार्बजनिक अपराध अन्तर्गतको मुद्दा चलाउन सक्छ ।
त्यहि मुद्दामा २ बर्ष जेल सजायँ पनि हुनसक्छ । ‘रंगहरुको पर्व होलीलाई मर्यादित र अनुशासित बनाउन लागिपरेका छौं,’ काठमाडौं प्रहरी प्रमुख उत्तम कार्कीले भने, ‘होलीको नाममा कसैलाई जबर्जस्ती गरे सार्बजनिक अपराध अन्तर्गत कारवाही गर्छौं ।’
उनले होलीमा कसैले दुःख दिए तुरुन्त नजिकको प्रहरीमा खबर गर्न सबैमा अनुरोध पनि गरे । भक्तपुरमा पनि होली पर्वलाई विकृतिमुक्त बनाउन सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरिएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक विकास श्रेष्ठले चाडपर्वमा विकृति नफैलियोस् भनेर होली पर्वमा विशेष निगरानी राखेको बताए ।
