गणेश थापामाथि छानबिन गर्न फिफालाई आग्रह
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष गणेश थापाका गलत काम र आर्थिक हिनामिनाको पूर्ण छानविन गर्न एन्फाका उपाध्यक्षहरुले विश्व फुटबल महासंघ (फिफा)लाई आग्रह गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ २३ गते थापाविरुद्धको उजुरी प्रमाण नपुगेको भन्दै तामेलीमा राख्ने निर्णय गरेको थियो।

अख्तियारको निर्णय सार्वजनिक भएपछि एन्फा उपाध्यक्ष कर्मा छिरिङ शेर्पा र विजयनारायण मानन्धरले छानविनका लागि पुनः फिफाको इथिक्स कमिटीलाई आग्रह गरेको हो। उनीहरुले थापाविरुद्ध यसअघि पनि फिफामा उजुरी हालेका थिए। अख्तियारबाट सफाइ पाएपछि थापाले चार महिना फुटबलका सबै खाले गतिविधिबाट अलग रहने स्वयम् घोषणा गरेको म्याद अर्को साता सकिदैछ।
थापाले आफै अलग हुन चाहेको कात्तिक १८ गते फिफाले आफ्नो बेवसाइडमा उल्लेख गरेको थियो। ‘फुटबलमा थापाको पुनरागमन अघि नै उनको र उनको नेतृत्वमा रहेको एन्फाको सबै गतिविधिको तत्काल र पूर्ण छानविनका लागि हामी फिफाको इथिक्स कमिटी सँग आग्रह गर्दछौं,’ दुई उपाध्यक्षले फागुन ८ गते फिफालाई पठाएको पत्रमा उल्लेख छ।
उनीहरुले उक्त पत्र फिफाको इथिक्स कमिटीका सदस्य रोर्बेट टोरेस, फिफा महासचिव जेरोमी भाल्के र एसियाली फुटबल महासंघ (एएफसी) महासचिव एलेक्स सोसेलाई पठाएका छन्। थापाले एन्फा नफर्केसम्म केही बताउन अस्वीकार गरे। उनले रोयर्टसलाई भनेका छन् ‘अहिले म यो विषयमा केही बोल्न चाहन्न।’ फिफाले पनि पत्रका बारेमा केही बताउन नचाहेको रोयर्टसमा उल्लेख छ।
थापा एन्फा र एएफसीमा फर्कने विषयमा समेत केही बताउन नचाहेका फिफाका एक अधिकारीले भने,’यसको थप जानकारी उपयुक्त समयमा आउनेछ।’ थापा एएफसीमा फर्कने विषयमा पन अझै अन्यौल कायम छ । आजको नागरिक दैनिकमा खबर छ ।
