Header Ads

प्रचण्ड असुरक्षीत भएको भन्दै सुरक्षा बढाइएको खुलासा, नेपाल प्रहरीबाट मात्रै २४ जना सुरक्षाकर्मी लिँदै

चितवन, फागुन १४ । देशका पूर्वप्रधानमन्त्रीलाई सुरक्षाका लागि भनेर सरकारले तीन जना पीएसओ खटाउँदै आएको छ । तर एमाओवादीका नेताद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईले भने २४/२४ जना प्रहरीको जत्था अघिपछि लगाएर हिंड्ने गरेका छन् । त्यसबाहेक सशस्त्र प्रहरीको करिब १५ जना हुने पछुवा टोली पनि उनको स्कर्टिङमा खटिने गरेको छ ।

तैपनि माओवादी अध्यक्ष प्रचण्डले आफूलाई मार्ने योजना बनिरहेको र असुरक्षित भएको भन्दै हिंडेका छन् । सुरक्षाका दृष्टिकोणले नभई राजनीतिक मैदानमा उनी असुरक्षित बन्दै गएको विश्लेषण गृह मन्त्रालयको छ । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था कार्यविधिअनुसार पूर्वप्रधानमन्त्रीले २ जना मात्र पिएसओ पाउँछन् । तर कानुन मिचेर बाबुराम र प्रचण्डले नेपाल प्रहरीबाट मात्रै २४ जना सुरक्षाकर्मी लिँदै आएका छन् । उनीहरुको भान्छेदेखि भाडा माझ्ने कामसम्म प्रहरीलाई लगाउने गरेको स्रोत बताउँछ । ‘युद्धको पृष्ठभूमिबाट आएका नेता भएकाले अरुको भन्दा अलि बढी सुरक्षा थ्रेट त हुन सक्छ,’ एक उच्च प्रहरी अधिकारी भन्छन्,‘तर बहालवाला प्रधानमन्त्रीलाई सरह सुरक्षा सुविधा दिएको देख्दा हामीलाई पनि अचम्म लाग्छ ।’ माओवादीमा बाबुराम र प्रचण्डलाई मात्र अत्याधिक सुरक्षा थ्रेट हुने भन्ने हुँदैन ।

पार्टीका अन्य सिनियर नेताहरुले पिएसओ राख्न आवश्यकता ठानेका छैनन् । तर प्रचण्ड र बाबुरामलाई विलासी जीवनको बानी परेकाले उनीहरुले सहयोगीका रुपमा प्रहरीलाई लिँदै आएका छन् । प्रधानमन्त्रीलाई डिएसपीको कमाण्डमा सुरक्षा खटाइन्छ । प्रचण्डले पनि केही समयअघिसम्म डिएसपी दान बहादुर मल्ललाई आफ्नो पीएसओ बनाएका थिए । जबकी पूर्व प्रधानमन्त्रीले सई तहको पीएसओ पाउछन् । गृहका अधिकारी र तथा प्रहरी नेतृत्वलाई दबाब दिएर उनीहरुले प्रधानमन्त्री हुदा बराबरकै सुरक्षा सुविधा प्रयोग गर्दै आएका छन् ।

कडा सुरक्षा घेरामा लाजिम्पाटको भव्य महलमा बस्दै आएपनि प्रचण्डले आफू असुरक्षित रहेको बताएपछि गृह मन्त्रालयले समेत आश्चर्य जनाउदै बिज्ञप्ती निकालिसकेको छ । प्रचण्डको भनाईले आफूहरुको गम्भीर ध्यानाकर्षण गराएको भन्दै प्रचण्डलाई मार्ने योजना बनाएको भन्ने कुराको सूचना दिन आग्रह गरेको छ । सामान्यतया कुनै नेताले बोलेकै आधारमा गृहले बिज्ञप्ती निकाल्दैन । तर, प्रचण्डले आफूलाई मार्ने योजना भइरहेको बताएर पार्टीका नेता तथा कार्यकर्ताको ‘सेन्टिमेन्ट क्याच’ गर्न खोजेको सुरक्षा अधिकारीहरुको विश्लेषण छ । स्रोत/हाम्रो संदेशबाट साभार !
Powered by Blogger.