किशोरीहरुले नाम भन्न नमानेका कारण एसिड हान्ने पक्राउ परेनन् : प्रधानमन्त्री
काठमाडौं, फागुन १५ । प्रधानमन्त्री सुशील कोइरालाले एसिड आक्रमणमा परेका किशोरीहरुलाई दोषीको नाम भनिदिन आग्रह गर्नुभएको छ ।

शुक्रबार आफ्नै निवासमा विभिन्न विद्यार्थी संगठनहरुको ज्ञापनपत्र बुझ्ने क्रममा प्रधानमन्त्रीले पीडित किशोरीहरुले परिचय दिन नमानेका कारण आक्रमणकारीहरु पक्राउ पर्न नसकेको बताउनुभयो ।
उहाँले माया प्रेममा कुरा नमिल्दा घटना भएको हुनसक्ने भन्दै किशोरीहरुले नाम भनिदिए आक्रमणकारीहरुलाई तत्काल पक्राउ गरेर कारवाही गर्ने बाटो खुल्ने बताउनुभयो । उहाँले किशोरीहरुले चिनेको छैन भनेका कारण प्रहरीलाई आक्रमणकारीको पहिचान गर्न गाह्रो परिरहेको बताउनुभयो ।

गएको आइतबार काठमाडौको वसन्तपुरस्थित एउटा ट्युसन सेन्टरभित्र पढिरहेको अवस्थामा एसएलसीको तयारी गरिरहेका सीमा बस्नेत र संगिता मगरमाथि एसिड प्रहार गरिएको थियो ।
घटना भएको ६ दिन हुँदा पनि प्रहरीले आक्रमणमा संलग्नलाई पक्राउ गर्न सकेको छैन । प्रधानमन्त्री कोइरालाले आक्रमणमा संलग्नलाई कडा कारवाही गर्न सरकार तयार रहेको तर त्यसका लागि आक्रमणकारीको बारेमा किशोरीहरुले जानकारी दिएर सहयोग गर्नुपर्ने बताउनुभयो ।
