नवलपरासीमा पनि स्वाइन फ्लुका बिरामी फेला, खतरा बढेको आशंका

चितवनको भरतपुर अस्पतालबाट नमुनाका लागि पठाएकामध्ये नवलपरासीका एक जनामा स्वाइन फ्लु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।
अस्पतालबाट नवलपरासी र चितवनका गरी ४३ जनाको नमुनाका लागि पठाइएकामा एक जना नवलपरासीकासहित चार जनामा यो सङ्क्रमण फेला परेको थियो । अन्य तीन जना भने चितवनका रहेका छन् । जिल्लामा स्वाइन फ्लु भित्रिएपछि जिल्ला दैवी प्रकोप उद्धार समिति नवलपरासीले नेपाल–भारत सीमा क्षेत्रमा हेल्प डेक्स स्थापना गरेकोसमेत जनाएको छ ।
समितिको बसेको बैठकबाट जिल्लाको त्रिवेणी र महेशपुर नाकामा स्वास्थ्यकर्मी संलग्न हेल्प डेक्स स्थापना गरिएको पृथ्वीचन्द्र अस्पतालका सुपरीटेन्डेट डा नुरुल होदाले जानकारी दिनुभयो । जिल्लामा भारतीय सीमा नाकाबाट दिनहँु हजारौँको सङ्ख्यामा सर्वसाधारणको आवतजावत हुने गर्दछ ।
हेल्प डेक्समार्फत रुघाखोकी लागेकालाई उपचारमा सल्लाह दिने, माक्सको प्रयोग गर्ने, हात मिलाउने काममा कम गर्न सचेतना गराइने होदाले जानकारी दिनुभयो । भारतीय सीमाका क्षेत्रमा निगरानी गर्दा सङ्क्रमणबाट बच्न सकिने भएकाले जिल्लाका संयन्त्र परिचालन गरिएको हो ।
जिल्लाभित्रै स्वाइन फ्लुका बिरामी भेटिएपछि त्यसको सङ्क्रमणबाट बच्न जिल्लावासीलाई स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।
