Header Ads

कान्ति अस्पतालको भेन्टिलेटरमा ६ वर्षीया बालिकाको दियो धिपधिप गर्दैछ

काठमाडौं । कान्ति बाल अस्पतालको (पेडिनेटनल आइसियु) बाट जबजब सेतो कोट लगाएका डाक्टर र नर्स निस्कन्छन्, बाराका एक दम्पतीका आँखामा त्रास र आस दौडिन थाल्छ ।

भेन्टिलेटरमा कृत्रिम श्वासप्रश्वासले बाँचिरहेकी ६ वर्षीया छोरीको स्वास्थ्य स्थिति सुन्न कान ठाडा हुन्छन् उनीहरुका । जब कुनै पनि उपचारले छोरीलाई नछोएको खबर पाउछन्, उनीहरुको धैर्यको बाँध टुट्छ ।

बारा, कलैयामा गत फागुन ८ शुक्रबार साँझ बेपत्ता पारिएकी ती बालिका शनिबार बिहान अचेत अवस्थामा फेला परेकी थिइन् ।

वीरगन्जस्थित नारायणी अस्पतालले उतिखेरै बलात्कार भएको पुष्टि गरेको थियो । आइतबार अचेत अवस्थामै उनलाई हेलिकप्टरमा कान्ति बाल अस्पताल ल्याइयो । त्यसयता ती बालिकाको स्वास्थ्यमा एकरत्ति प्रगति भएको छैन, उल्टो खस्कँदै गएको छ।

उपचारमा संलग्न वरिष्ठ बालरोग विशेषज्ञ डा.चन्देश्वर महासेठका अनुसार बालिकाको स्वास्थ्यमा सुधारको सम्भावना कम छ ।

भेन्टिलेटरको सहायतामा सास र मुटु चले पनि मस्तिष्कले प्रतिक्रियाया दिन छाडेको उनले बताए । बालिकाका बाबुले पनि स्थिति नाजुक रहेको स्विकारिसकेका छन् ।

जतिजति दिन घकिंर्दैछ, उनको त्रास उति बढ्दैछ, आशाको दियो उति धिपधिप हुँदै गएको छ । आजको नागरिक दैनिकमा खबर छापेको छ ।
Powered by Blogger.