Header Ads

देशैभर महिला हिंसा विरुद्धको अभियान चलिरहँदा बलात्कृत भएकी महिलाको दर्दनाक कथा

चौतारा, मंसीर १६ । मंसीर ६ गते सिन्धुपाल्चोक साँगाचोककी ४५ वर्षीया शान्ति (परिवर्तित नाम) बलात्कृत भईन् । महिला हिंसा विरुद्धको १६ दिने अभियान देशभर चलिरहँदा उनी बलात्कारको शिकार भएकी हुन् । अझ अनौठो कुरा त के हो भने महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा न्याय दिलाउन पहल गर्ने निकायबाटै शान्ति अपहेलित भइन् । 

 कारणः बलात्कार गर्नेलाई सजायँको माग गर्न उनी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक आइन् तर आफूलाई बलात्कार गर्ने सिन्धुपाल्चोकस्थित साँगाचोक–१ खत्रीथोकका २८ वर्षीय भोला केसी विरुद्ध प्रहरीले उजुरी दर्ता गरेन । पटक–पटक न्यायको ढोका ढकढक्याउँदै सदरमुकाम आएपछि आईतबारमात्र प्रहरीले उजुरी दर्ता गरेको हो । पीडितका एक आफन्त भन्छन्, ‘पहिलोचोटी उजुरी दर्ता गर्न नमान्दा आलो घाउमाथि नुन छर्किएको महसुस भयो ।’ शान्तिले आफू बलात्कृत भएको जानकारी गराउँदासमेत जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपकराज खरेलले तपाईंसँग म अहिले कुरा गर्दिन अनुसन्धानपछि मात्र उजुरी दर्ता हुने बताएको पीडित पक्षको भनाई छ । 

बलात्कार गर्ने व्यक्ति सशस्त्र प्रहरीका उच्च अधिकारीका ड्राइभर भएकाले प्रहरीले उजुरी दर्ता गर्न नमानेको हुनसक्ने पीडित पक्षको आरोप छ । स्रोत अनुसार बलात्कार गर्ने केसी सशस्त्र प्रहरीका हवलदार हुन् । तर पीडितले दिएको जाहेरीमा उक्त कुराहरु उल्लेख गरिएको छैन । शान्ति भन्छिन् ‘श्रीमान् खेतको काममा गएकाले घरमा म एक्लै थिएँ । शनिबार दिउँसोको साढे २ जति बजेको थियो होला । एक अपरिचित मान्छे पानी खान पाइन्छ भन्दै आए । म अंखोरामा पानी भर्दै थिएँ । ऊ घरभित्र पस्यो । र, मेरो नजिक आयो । 

मैले किन भित्र आएको भनेर प्रश्न गरें, उसले मलाई खाजा केही पाइन्छ भनेर सोधेको थियो । मैले केही छैन भनेपछि उसले म रानाथोकको मान्छे हो, आफू सिकार खोज्न आएकाले कालिज कता पाइन्छ भन्दै गर्दा एक्कासी मेरो छाति समाई नजिकै रहेको खाटमा लडायो ।’ ‘मलाई खाटमा लडाएपछि कुनै कुरा बोल्न नदिई मेरो संबेदनशिल अंगमा मनलाग्दो गर्यो । म रोईकराई प्रतिकार गर्न खोज्दा उसले मेरो मुख थुनिदियो । मेरो कपडा जर्ववस्ती खोलेर उसले मलाई बलात्कार गर्यो । पीडा र डरले गर्दा म बेहोस जस्तै भएछु । 

म केही समयपछि होसमा आउँदा उसले मलाई बलात्कार गरेकै ठाउँमा छाडेर भागेछ । श्रीमान काम सकेर ४ बजेतिर घरमा आएपछि घटनाको सबै विवरण सुनाएँ ।’शान्तिले रुँदै भनिन् ।’ अभियान चलिरहँदा एउटी युवती बलात्कारजस्तो जघण्य हिंसाको शिकार हुनु अभियानमाथि नै चुनौती हो । त्यसमाथि प्रहरीले उजुरी दर्ता नगर्दा थप हिंसा भएको एक नागरिक समाजका अगुवा बताउँछन् । अनुसन्धान भइनसकेकाले पहिलोचोटी उजुरी दर्ता नगरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख डिएसपी दीपकराज खरेल बताउँछन् । 

‘हामीले पनि केही बुझ्नु जरुरी ठानेका थियौं’ उनले रोतोपाटीसँग कुरा गर्दै भने ‘अनुसन्धान जारी रहे पनि आइतबार उजुरी दर्ता गरेका हौं ।’ आफू बलात्कृत भएपछि शान्तिले आइतबारमात्रै बलात्कारीविरुद्ध उजुरी दर्ता गराउन सफल भएकी छिन् । 

उनले बलात्कारीलाई कानुन बमोजिम हदैसम्मको कारवाहीको मागसमेत गरेकी छिन् । शान्तिको दुई छोराहरु छन् । घर शान्ति नै विश्व शान्तिको आधार भन्ने मूल नाराका साथ अहिले देशैभर महिला हिंसा विरुद्धको अभियान चलिरहेको छ । अभियान २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म चल्नेछ ।
Powered by Blogger.