पेपल नेपालमा पूर्ण रूपमा किन सञ्चालनमा छैन? आवाज उठाउनु जरुरि
काठमाडौं । आजको डिजिटल युगमा विश्व एउटा सानो गाउँ बनेको छ, जहाँ प्रतिभा र सिर्जनाको भौगोलिक सीमा हुँदैन । इन्टरनेटको पहुँचसँगै नेपाली युवाहरू पनि विश्व बजारमा आफ्नो सीप र उत्पादन बेच्न सक्षम भएका छन्। तर, जब अन्तर्राष्ट्रिय बजारबाट आफ्नो मिहिनेतको कमाइ स्वदेश भित्र्याउने कुरा आउँछ, उनीहरू एउटा अदृश्य अवरोधमा ठोक्किन पुग्छन्।
यो पर्खाल हो— नेपालको जटिल वित्तीय नीति र पेपल (PayPal) जस्ता अन्तर्राष्ट्रिय र सजिलो भुक्तानी प्लेटफर्मको अभाव ।
स्टार्टअप र साना व्यवसायलाई अन्तर्राष्ट्रिय बजारमा लैजान सहयोग गर्न, सजिलै पैसा पठाउन र पाउन, विदेशी प्रोजेक्ट र ग्राहकसम्म पहुँच पुर्याउन पेपल नेपालमा पूर्णपुरमा लागु गराउन अब हामीले आवाज उठाउनु पर्छ ।
किनकि अनलाइन भुक्तानीको अत्यन्त सजिलो माध्यम पेपल पूर्णपुरमा लागु भएको खण्डमा धेरै साना स्टार्टअप तथा प्रविधि उद्यमीहरुको हौसला बढ्ने थियो ।
हुन त नेपाल बाट पनि पेपलको खाता खोल्न मिल्छ सामान किन्न र पठाउन मिल्छ तर रकम भित्र्याउन भने झन्झटिलो छ । केही नेपालीहरूले विदेशको ( पेपल चल्ने देशहरूको ) ठेगाना प्रयोग गरेर पेपल खाता बनाउँछन् र भर्चुअल क्रेडिट कार्ड (VCC) वा भर्चुअल बैङ्क खाता प्रयोग गरेर त्यसलाई प्रमाणित (Verify) गर्छन् ।
यो उपायले केही समय काम गरे पनि, केही कारोबारपछि पेपललाई शङ्का लाग्छ र खाता सीमित (Limited) हुन जान्छ । खाता सीमित भएपछि ठेगाना प्रमाणित गर्न लगाइन्छ, जुन निकै गाह्रो हुन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा, यी सबै प्रक्रियाहरू गैर-कानुनी हुन् र यदि पेपलले यसबारे थाहा पायो भने, खातामा भएको सबै पैसा झिक्नै नमिल्ने गरी रोक्का गरिदिन सक्छ ।
यो अनलाइन व्यवसायीको लागि दुखद कुरा हो ।
यो समस्याले कैयौं नेपाली उद्यमीको सपनालाई अघि बढ्न दिएको छैन।
यो समस्याको जड नेपाल राष्ट्र बैंकको नीति मात्र होइन, पेपलजस्ता कम्पनीहरूको आफ्नै सरोकार पनि हो। पेपलका एक पूर्व उच्च-स्तरीय कर्मचारीका अनुसार, नेपालमा यसको सञ्चालन नहुनुका केही प्रमुख कारणहरू छन्: कमजोर साइबर कानुन: नेपालमा बलियो साइबर कानुनको अभाव छ।
यसले गर्दा पेपललाई नेपालमा सञ्चालन सुरु गर्न उच्च जोखिम छ, किनकि पछि गएर कानुन पूर्ण रूपमा परिवर्तन हुन सक्छ । असुरक्षित अनलाइन बैंकिङ: नेपालको अनलाइन बैंकिङ/भुक्तानी प्रणाली बलियो र सुरक्षित छैन । यो कुरालाई अन्य स्रोतहरूले पनि समर्थन गर्छन्, जसअनुसार नेपालमा अनलाइन बैंकिङ र ई-बैंकिङ जस्ता सुविधाहरूको र अपेक्षाकृत विस्तार हुन सकेको छैन ।
नेपाल बाहिरबाट आउने वा बाहिर जाने सबै पैसाको पूर्ण जानकारी बैंकहरूले राष्ट्र बैंकलाई दिनुपर्छ, जसले गर्दा बैंकहरूलाई पेपलजस्ता अन्तर्राष्ट्रिय माध्यम प्रयोग गर्न निकै गाह्रो छ । नेपालका ठूला बैंकहरूले भिसा कार्डको सुविधा दिए तापनि त्यो कार्ड नेपाल, भारत र केही सार्क राष्ट्रहरूमा मात्र प्रयोग गर्न मिल्छ र त्यसले पेपल प्रमाणित गर्न मिल्दैन । अबको बाटो भनेको सरकार र नेपाल राष्ट्र बैंकले आफ्ना वित्तीय नीतिहरूलाई आधुनिकीकरण गर्नु हो ।
डलर कारोबारको सीमालाई सहज बनाउने र सुरक्षित अन्तर्राष्ट्रिय भुक्तानी प्लेटफर्महरूलाई कानुनी मान्यता दिनाले नेपालको जनशक्तिलाई सशक्त बनाउनेछ, व्यवसायहरूलाई प्रोत्साहन मिल्नेछ र देशको आर्थिक प्रगतिलाई गति दिनेछ । नेपाली प्रतिभाले विश्व बजारमा निर्धक्कसँग आफ्नो सिर्जना बेच्न र त्यसको उचित मूल्य आफ्नै बैङ्क खातामा प्राप्त गर्न सक्ने दिनको कामना गरौं, ताकि कसैले पनि अर्काको देशको ठेगाना प्रयोग गरेर जोखिम मोल्न नपरोस् ।
नेपालमा बसेर ग्लोबल भुक्तानी लिनुपर्ने फ्रिलांसर तथा आइटि व्यवसायीहरु सबै एक हौँ, नेपालमा पनि पेपल संचालनको लागि छलफल अघि बढाउँ र सम्बन्धित निकायलाई दवाव दिऔं ।
(लेखक, कृष्ण थापा हाल : इजरायल )
@highlight #theboythatwas #PayPalIntegration #DigitalNepal #nepalifreelancers #onlinepayment #RaiseYourVoice #TechNepal #DigitalEconomy #FutureOfNepal #softwarenepal