युएई पुगेका म्यानमारका दुई सय नागरिकसँग ‘नेपाली पासपोर्ट’
काठमाडौं, १४ असोज । वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) पुगेका म्यानमारका करिब दुई सय नागरिकसँग नेपाली पासपोर्ट रहेको पाइएको छ । कसरी उनीहरूले नेपाली पासपोर्ट लिए भन्नेमा छानबिन सुरु भएको छ । मंगलबार नौ देशका राजदूत, सहचारीसहितको भर्चुअल छलफलमा यस्तो तथ्य खुलेको हो ।
अध्यागमन विभागले जेन–जी आन्दोलनले वैदेशिक रोजगारीको क्षेत्रमा पार्न सक्ने प्रभाव र विदेशमा नेपालको छवि सुधार गर्न अवलम्बन गर्नुपर्ने उपायबारे गरेको छलफलमा राजदूतहरूले नेपाली पासपोर्ट दुरुपयोगबारे बताएका हुन् ।
‘छलफलका क्रममा दुई सयजना म्यानमारका नागरिक नेपाली पासपोर्टमा छन् भन्ने कुरा आएको छ, यसमा प्रस्ट प्रमाण भेटिएको छैन,’ अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले भने, ‘पासपोर्ट नै नक्कली हो वा के हो बुझ्ने काम भइरहेको छ ।
अध्यागमन विभागको सक्रियतामा भएको सो छलफलमा परराष्ट्रसचिव तथा नौ देशका राजदूत र सहचारी सहभागी थिए । राजदूत र सहचारीले वैदेशिक रोजगार क्षेत्रका विविध समस्याबारे जानकारी गराएका थिए ।
बैठकले वैदेशिक रोजगार क्षेत्रको कुशासन हटाउनेदेखि भिजिट भिसासम्बन्धी नियमलाई समसामयिक रूपमा परिमार्जन गर्ने विषयमा छलफल गरेको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले बताए ।
भर्चुअल बैठकमा युएई, कतार, ओमन, कुवेत, साउदी अरेबिया, बहराइनलगायत खाडी मुलुक एवं मलेसिया र थाइल्यान्डमा अवस्थित नेपाली राजदूत र श्रम सहचारीसहित गृह र परराष्ट्र मन्त्रालयका पदाधिकारी थिए । त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कन्सुलर सेवा विभागका प्रतिनिधिको पनि उपस्थिति थियो ।
निर्देशक ढकालका अनुसार बैठकमा १८ वटा विषयमा छलफल भएको थियो । वैदेशिक रोजगारको क्षेत्रमा कुशासन हटाउनेदेखि भिजिट भिसामा सरकारी नियमलाई समसामयिक रूपमा परिमार्जन गर्ने तयारी छ ।
रामचन्द्र तिवारी, महानिर्देशक, अध्यागमन विभाग
म्यानमारका दुई सयजना नागरिक नेपाली पासपोर्टमा छन् भन्ने कुरा आएको छ, यसमा प्रस्ट प्रमाण भेटिएको छैन । पासपोर्ट नै नक्कली हो वा के हो बुझ्ने काम भइरहेको छ ।
नया पत्रिकामा यो खबर छ ।