Header Ads

पहिरोको इपिसेन्टर : तुइनखोला डेढ सातामा १३ पहिरो

 काठमाडौं, ८ असोज ।  पोहोर दसैँको मुखमा मध्यअसोजको बाढीले काठमाडौं उपत्यकालाई जोड्ने सबैजसो सडकमा क्षति ग¥यो । रोशी र सुनकोशी नदीले पूर्वी नेपालको लाइफलाइन बिपी राजमार्ग नौ ठाउँमा बगायो । अस्थायी ट्र्याकमार्फत आवागमन भइरहे पनि सडक बनिसकेको छैन ।

यसपालि पनि दसैँको मुखमै राजधानी काठमाडौंलाई जोड्ने प्रमुख मार्ग मुग्लिन–नारायणगढ हरेक दिन पहिरोको ट्र्यापमा पर्न थालेको छ । मुग्लिन बजारदेखि करिब दुई किलोमिटरमा रहेको चितवनको इच्छाकामना गाउँपालिका– ६ स्थित तुइनखोला पुलछेउमा २८ भदौबाट हरेक दिन पहिरो खस्न थालेपछि यात्रुले सास्ती खेप्नुपरेको हो । पहिरोको इपिसेन्टर तुइनखोलामा डेढ सातामा १३ पहिरो खसेको छ । 


पछिल्लोपटक तीन दिन अवरुद्ध र त्यसपछि एक दिन एकतर्फी बनेको सडक पहिरो पन्छाएर दुईतर्फी सञ्चालन गरेको भोलिपल्टै मंगलबार भीषण पहिरो खसेपछि अनिश्चित बनेको छ । मंगलबार दिउँसो १ बजे पहिरो खस्दा सडक अवरुद्ध बनेकामा साँझ ४: ५५ मा फेरि भीषण पहिरो खसेको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर कृष्णप्रसाद आचार्यले बताए । ‘ठुलो पहिरो खसेको छ, सडक १६० मिटर ढाकेको छ ।

पहिरोपछि पनि ढुंगा खसिरहेको छ,’ आचार्यले भने, ‘थप पहिरो खसेन भने पनि पन्छाउन बुधबार दिनभर लाग्न सक्छ, त्यही भएर सडक कहिले खुल्छ भनेर भन्न सकिने अवस्था छैन, हामीले वैकल्पिक सडकमार्ग प्रयोग गर्न अनुरोध गरेका छौँ ।’ सडकमाथिको भिरबाट ठुलो पहिरो खसेकाले सडकको बेसमेन्टमा पनि क्षति पुगेको हुन सक्ने कतिपयले अनुमान गरिरहेका छन् । तर, इन्जिनियर आचार्यले पहिरो नपन्छाई भन्न सक्ने अवस्था नरहेको र सडक भासिएको छैन भन्ने आफूहरूको अनुमान रहेको बताए । 

घटस्थापनासँगै काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढेका वेला मुग्लिन–नारायणगढ सडक हरेक दिन अवरुद्ध भइरहेको छ । मुग्लिन–नारायणगढ मात्र होइन, काठमाडौंलाई पोखरासँग जोड्ने पृथ्वी राजमार्गमा पनि पहिरो खस्न थालेको छ ।

नारायणगढ–मुग्लिन सडक मुग्लिन बजारमा पुगेपछि पृथ्वी राजमार्गसँग जोडिन्छ । तर, ३ असोजको पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडक आइतबार एकतर्फी र सोमबार साँझ दुईतर्फी सञ्चालन भएका वेला सोमबार मध्यराति नै पृथ्वी राजमार्ग (मुग्लिन–नागढुंगा) मा पर्ने धादिङको बेनिघाटस्थित जवाङखोलामा पहिरो खसेर नागढुंगा नाकाबाट राजधानीसँग सडक सञ्जाल अवरुद्ध भएको थियो ।

जवाङखोलाको पहिरो पन्छाएर मंगलबार दिउँसो ३ बजे सडक सञ्चालन गरिए पनि मुग्लिन–नारायणगढ सडकखण्डमा भने त्यसअघि दिउँसो १ बजेदेखि नै सडक अवरुद्ध बन्यो । सडक डिभिजन कार्यालय भरतपुरले मुग्लिन–नारायणगढ सडकको तुइनखोलाको पहिरो पन्छाउने तयारी गरेका वेला मंगलबार साँझ ४:५५ बजे भीषण पहिरो खसेपछि झनै अनिश्चित बनेको हो । हुन त तुइनखोलामा मंगलबार बिहान पनि पहिरो खसेको थियो, तर पन्छाएको केही घण्टामै फेरि अवरुद्ध भएको हो ।

यसैबिच, जिल्ला प्रशासन कार्यालय चितवनले तत्काल सडक खुल्ने अवस्था नरहेकाले सम्बन्धित जिल्लाका स्थानीय प्रशासनसँग समन्वय गरी उपयुक्त वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।   आजको नया पत्रिकामा यो खबर छ।

Powered by Blogger.