Header Ads

मन्त्रालयमै हुनेछ शिक्षामन्त्री महावीरको बास

 काठमाडौं , ६ असोज । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन मन्त्रालयमै बस्ने भएका छन् ।


पदभार ग्रहरण गरेपछि सञ्चारकर्मीसँग मन्त्री पुनले आफू मन्त्री क्वार्टरमा नबस्ने बताए । मन्त्रालयमै कोठा मिलाउन उनले निर्देशन दिए ।


‘मन्त्री क्वार्टर चाहिँदैन । यहीँ कोठा बनाउनू । सुत्ने खाट र टेबल भए पुग्छ । आफैं पकाएर खान्छु,’ मन्त्री पुनले भने ।

सुरक्षाकर्मीलाई पनि मन्त्रालयमै बस्न आग्रह गरे । सरकारी कामबाहेक अन्य ठाउँमा जाँदा सरकारी गाडीको प्रयोग नगर्ने उनले घोषणा गरे ।

६ महिनाका लागि मन्त्री भएको बताउँदै उनले आफूले सकेको काम गर्ने प्रतिबद्धता जनाए ।


महावीर पुन भन्छन्- केही सेवा सुविधा चाहिँदैन, मन्त्रालयमै खान्छु, सुत्छु, खुरुखुरु काम गर्छु

नवनियुक्त शिक्षामन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । केशर महलस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

उनले आफूलाई मन्त्री भएपछि केही पनि सेवासुविधा नचाहिने बताएका छन् । पत्रकारसँग उनले भने, ‘मलाई सेवा सुविधा केही पनि चाहिँदैन । मन्त्रालयमै ओछ्यान लगाएएर सुत्ने हो । मन्त्रालयभित्र किचेन होला, त्यहीँ पकाएर खान्छु र खुरुखुरु काम गर्छु ।’


पत्रकारले उनलाई मन्त्री भएपछि के के काम गर्नुहुन्छ भनेर सोधेको प्रश्नमा पुनले भने, ‘म शिवजी भएदेखि त्रिनेत्र लगाएर यस्तो यस्तो गर्छु भन्ने थिएँ । अपर्झट मन्त्री भइएको छ । प्लान बनाएर आएको भए पो त । राजनीतिक क्षेत्रमा काम गरेर आएको भए यो गर्छु भन्ने हो । किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाएपछि अहिले नै के गर्छस भनेर कसरी भन्ने ।’

तपाईं शिक्षा मन्त्री भएपछि सबैले निशुल्क शिक्षा पाउँछन्? भन्ने अर्को प्रश्नमा पुनले जवाफ दिए, ‘म भगवान हो र निशुल्क शिक्षा दिन ? केही न केही होला, गरम्ला । अहिले कसरी भन्ने ? पत्रकारले आजै मर्लाइ नपेल्नु न हो ।’

पुनले विज्ञहरूसँग सुझाव लिएर अघि बढ्ने बताए ।मन्त्रीको जिम्मेवारीमा रहँदा प्राप्त हुने राम्रा सुझाव ग्रहण गरेर सकेसम्म छिटो कार्यान्वयनमा लैजाने उनको भनाइ छ ।

मन्त्रालयको जिम्मेवारी अनुसार विज्ञान, प्रविधि, नवप्रवर्तन नै आफ्नो प्राथमिकता पर्ने उनले बताए ।

आफूले जिम्मेवारी पाएको मन्त्रालय शिक्षा क्षेत्रसँग पनि जोडिएको तर, शिक्षामा सुधार र परिवर्तनबारे अहिले नै नबोल्ने बताए ।
Powered by Blogger.