सत्ताच्युतपछि पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएका ओलीको उस्तै दम्भ
काठमाडौं, १२ असोज । जेन–जी आन्दोलनले सत्ताच्युत भएका निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आमयुवाले दिएको ठुलो राजनीतिक झड्कापछि पनि उस्तै दम्भ देखाएका छन् । जेन–जी आन्दोलनकै क्रममा २४ भदौमा राजीनामा दिएर सेनाको सुरक्षामा बसेका ओलीले सैनिक ब्यारेकबाट निस्किएको १० दिनपछि शनिबार दिएको सार्वजनिक अभिव्यक्तिमा पनि पुरानै दम्भ दोहो¥याएका हुन् ।
युवा संघले भक्तपुरको गुन्डुमा आयोजना गरेको ‘बडादसैँको अवसरमा खुला भेटघाट’ कार्यक्रममा ओलीले वर्तमान सरकारले राजनीतिक कनेक्सनका कारण रोकिएका भ्रष्टाचारका सबै फाइल अगाडि बढाउने घोषणा गरेकोप्रति असन्तुष्टि जनाए । नेताका पासपोर्ट रोक्ने सरकारको तयारीको पनि विरोध गर्दै छिट्टै देश आफूहरूले नै चलाउने भन्दै चेतावनीसमेत दिए ।
‘भ्रष्टाचार ग¥यो भनेर हल्ला चलाएर हुँदैन, कहाँ भ्रष्टाचार ग¥यो, केमा कमिसन खायो, केमा घुस खायो ? त्यस प्रकारका अफवाह चलाएर हुँदैन । सरकारले विभिन्न प्रकारका हल्ला चलाइरहेको मैले सुनिरहेको छु । पासपोर्ट रोक्ने ? के ठानेको छ ?’ ओलीले भने, ‘अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला सुन्दै छु । के ठानेको छ । यो हा–हुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ ? के सोचेको ? हामीले यो देश बनाउनुपर्नेछ । फेरि पनि यो देशलाई हामी संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ, सुशासनमा ल्याउँछौँ, शान्ति सुव्यवस्था कायम गर्छौँ ।’
उनले भ्रष्टाचार छानबिन गर्न र आफू प्रधानमन्त्रीमा रहँदा दिइएका सबैखालका निर्देशन र रेकर्डेड अभिव्यक्तिहरू जनताका बिचमा सार्वजनिक गर्न चुनौती दिँदै सरकारले अफवाह फैलाएको दाबी गरे । ‘यो सरकारले मेरा अभिव्यक्तिहरू, मैले बोलेका कुराहरू प्रकाशन गरेर जनताका बिचमा ल्याओस्, अरूको पनि ल्याओस्, उहाँहरूको पनि ल्याओस्, मैले भनेका सम्पूर्ण कुराहरू हिम्मतका साथ जनताका बिचमा पु¥याओस्, प्रकाशित गरोस् । कर्मचारीहरूलाई दिएका निर्देशनहरू रेकर्डेड छ, प्रहरीलाई दिएका निर्देशनहरू रेकर्डेड छन्, बाहिर ल्याओस् । हामी कुनै षड्यन्त्र, छलछाम गर्दैनौँ, पारदर्शी ढंगले अघि बढ्छौँ, अफवाह नफैलाइयोस्,’ उनले भने ।
आफ्नै नेतृत्वमा भएको बर्बर दमन अस्वीकार
ओली सरकारले २३ भदौमा बानेश्वरमा भएको जेन–जी आन्दोलनमा निहत्था युवा तथा विद्यार्थीको टाउको र छाती ताकीताकी गोली हानेर १९ जनाको हत्या गरेको थियो । सरकारको बर्बर दमनका कारण भोलिपल्ट २४ भदौमा आन्दोलन थप चर्किँदा अहिलेसम्म मृतकको संख्या ७४ पुगिसकेको छ । तर, ओलीले आफ्नै नेतृत्वको सरकारले गरेको बर्बर दमनको अस्वीकार गरेका छन् । गोली चलाउन आदेश नदिएको उनको दाबी छ ।
‘२३ र २४ गतेको घटनाहरूका सन्दर्भमा आयोगको प्रतिवेदन पर्खिन जरुरी छ । नीतिगत तह र व्यावहारिक तहमा आदेश दिने, कार्यान्वयन गर्ने, कार्यान्वयन भएका हुन् कि अर्कै भएको हो ? विभिन्न भिडियो आएका छन्, कति सत्य, कति परिचालित हुन् ? एआई निर्मित हुन् कि सत्य भिडियो आएका हुन् आयोगले छुट्याउँछ । तर, प्रधानमन्त्रीले न गोली चलाउने आदेश दिन्छ न कुनै कुरा थाहा पाउँछ,’ उनले आफ्नो बचाउ गरे ।
ओलीले गोली कसरी चल्यो भन्नेबारे नै आफू अनभिज्ञ रहेको दाबी गरे । सुरक्षा निकायतर्फ दोष देखाएर उनले आफूलाई चोखो देखाउने प्रयास गरेका छन् ।
‘बालुवाटारमा सोधेर बसिरहेको थिएँ, क्याजल्टी नहोस्, क्षति नहोस्, त्यही कामना गरेर बसिरहेको थिएँ, गोली चल्यो भनेको सुनेपछि, गोल कसरी चल्यो, गोली चलाउने तहमा कसरी पुग्यो भनेर मैले सोधिरहेको छु । पछि मैले सुनेँ १४ जनाको निधन भइसक्यो । कसरी मारिए १४ जना युवाहरू ? मैले खोजेको छु, मैले सोधेँ, कसरी मरे युवाहरू, कहाँ गोली लाग्यो ? टाउकोमा, छातीमा । अनि सुरक्षा फोर्सले त घुँडामुनि हान्ने चलन हुन्छ, घुँडामुनि हानेको हुन्छ, कसरी टाउका–टाउकामा गोली लाग्यो ?’ ओलीले भक्तपुरको गुन्डु युवा संघले आयोजना गरेको कार्यक्रममा भने, ‘म सोध्दै छु– यस्तो किन भइराखेको छ ? कसरी रोक्न सकिन्छ यस कुरालाई ? म भन्दै छु, अनि म त्यसरी रक्तपात नहोस् देशमा भनेर भनेको भनेकै गर्ने, सोचेको सोचेकै गर्ने, अनि जसले त्यो उपद्रो मच्चाउँछ, उसले केपी ओली दोषी भनेको भनेकै गर्ने, बहुतै दुःखद घटना घट्यो, वास्तवमा म स्तब्ध भएको छु, अत्यन्तै दुःखित छु, यो कसरी भयो ?’ उनले भने ।
जेन–जी आन्दोलनमा भएको व्यापक दमनको नैतिक जिम्मेवारी लिएर ओली नेतृत्वबाट हट्नुपर्ने मत एमालेभित्रै बढ्दै गएको छ । केही पदाधिकारीले राजीनामा दिएर मार्गप्रशस्त गर्न उनलाई पार्टी बैठकमा आग्रह गर्ने तयारी गरेका छन् ।
आजको नया पत्रिकामा यो खबर छ ।