Header Ads

युक्रेनको हिरासतमा रहेका दुई नेपालीको उद्धार

 काठमाडौं । युक्रेनको सीमामा हिरासतमा रहेका दुईजना नेपाली उद्धार भएर शुक्रबार काठमाडौं आइपुगेका छन् । उनीहरू ६ महिनाअघि एकमहिने भिसामा युक्रेन पुगेका थिए, तर अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा युक्रेनमा हिरासतमा थिए । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीलाई जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको समन्वयमा उद्धार गरिएको हो । उनीहरूको उद्धारका लागि गैरआवासीय नेपाली संघ जर्मनीलगायतले भूमिका निर्वाह गरेका थिए ।  


जर्मनीस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख सागर फुयाँलका अनुसार यी दुईसहित युक्रेनबाट पछिल्लोपटक सातजना नेपालीको उद्धार भएको छ । ‘उहाँहरू मार्चमा एक महिनाको भिसा लिएर जानुभएको रहेछ । 

एक महिनाको भिसा रहेकै वेला युक्रेनबाट स्लोभाकिया प्रवेश गर्ने क्रममा सीमा प्रहरीले उहाँहरूलाई पक्राउ गरेर अध्यागमन डिटेन्सन सेन्टरमा राखेको थियो,’ फुयाँलले बर्लिनबाट टेलिफोनमा भने, ‘अध्यागमन कानुन उल्लंघनको अभियोगमा रहनुभएका उहाँहरूलाई उद्धार गरेका छौँ । यसअघि पाँचजनाको उद्धार भइसकेको छ ।’

युक्रेनमा रुसले गरेको हमलापछि युक्रेनमा भएका अधिकांश नेपाली बाहिरिएका थिए । तर, अहिले युरोपका अन्य मुलुक पुग्ने लोभमा गिरोहले नयाँदिल्ली हुँदै युक्रेन पुर्‍याएको पत्ता लागेको छ । उनीहरूलाई युक्रेनबाट छिमेकी देश माल्डोभा हुँदै उद्धार गरिएको हो । 

परराष्ट्र मन्त्रालयले सम्बन्धित मुलुकको अध्यागमनलगायत अन्य कानुनको पूर्ण पालना गर्न आग्रह गरेको छ । ‘सम्बन्धित मुलुकको कानुनको उल्लंघन वा अवज्ञा वा बेवास्ता गर्दा पक्राउ परिने र लामो समय थुनामा बस्नुपर्ने अवस्था आउने एवं ज्यानसमेत जोखिममा पर्न सक्ने हुन्छ । 

यसप्रकार पक्राउ परेकाहरूको उद्धार प्रक्रिया पनि सहज नहुने अनुभव रहेको छ,’ परराष्ट्रले भनेको छ, ‘तसर्थ, विभिन्न प्रकारका प्रलोभन र बहकाउका सम्बन्धमा सचेत हुन र यस प्रकारको कुनै पनि कार्यमा संलग्न नहुनुहुन सम्बन्धित सबैलाई अनुरोध गर्दछौँ ।’

यो समचार आजको नयाँ पत्रिकामा छ ।
Powered by Blogger.