गुगल प्ले स्टोरमा सर्वाधिक डाउनलोड हुने अडियो स्ट्रिमिंग एप बन्यो स्पटीफाइ
लोकप्रिय अडियो स्ट्रिमिंग एप स्पटीफाइ एन्ड्रोइड प्लाटफर्ममा एक अर्ब भन्दा धेरै पटक डाउनलोड हुने पहिलो अडियो एप बन्न सफल भएको छ । यो सँगै स्पटीफाइ गुगल प्ले स्टोरमा सर्वाधिक डाउनलोड हुने अडियो स्ट्रिमिंग एप बनेको छ । गुगलले आफ्नो अडियो एप बन्द गरेसँगै स्पटीफाई एन्ड्रोइड प्लाटफर्ममा नम्बर वान बन्न सफल भएको हो ।
दुई वर्ष अगाडि गुगल प्ले स्टोरमा ५० करोड पटक मात्र डाउनलोड भएको स्पटीफाइले २ वर्षको अवधिमा दोब्बर प्रयोगकर्ता बटुल्न सफल भएको हो ।
स्पटीफाइका निशुल्क र सशुल्क दुबैथरी संस्करण उपलब्ध छन् । प्रयोगकर्ताले आफ्नो सुविधा अनुसार जुनसुकै भर्सन छनोट गरी अनलाइन म्युजिकको आनन्द लिन सक्दछन् । यसका कूल प्रयोगकर्तामध्ये झण्डै १५ करोड ८० लाख प्रिमियम सब्सक्राइबर रहेको तथ्यांक छ ।
म्युजिक स्ट्रिमिंगका अलावा स्पटीफाइले आफ्नै पडकास्ट प्लाटफर्मबाट अडियोबुकहरु उपलब्ध गराउँदै अमेजनको अडिबलसँग प्रतिस्पर्धा गरिरहेको छ । साथै पछिल्लोपटक स्पटीफाइले कारमा मनोरञ्जन तथा सूचनाप्रविधि प्रणालीका लागि आफ्नै हार्डवेयर समेत लञ्च गर्दैछ ।
रोयटर्सको रिपोर्ट अनुसार अमेरिका तथा भारत लगायतका देशमा स्पटीफाइले किर्तिमानी वृद्धि हासिल गर्न सफल भएको छ ।स्पटीफाइले गत महिना आफ्नो प्लाटफर्ममा सशुल्क पडकास्ट सुरु गरेको थियो, जहाँ प्रयोगकर्ताहले एंकर एपबाट पडकास्ट सिर्जना गर्न सक्दछन् । यद्यपि उक्त सेवा आगामी दुई वर्षसम्म निशुल्क हुनेछ, र त्यसपछि केही शुल्क तिर्नुपर्नेछ ।
सन् २०२१ को पहिलो ३ महिनामा स्पटीफाइले २ अर्ब १५ कोड युरो आम्दानी गर्न सफल भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशतले बढि हो ।
एजेन्सीको सहयोगमा