Header Ads

कोरोना प्रभाव : भौतिक उपस्थितिमा परीक्षा हुने सम्भावना कम

काठमाडौं, २३ वैशाख। कोरोना भाइरसको संक्रमण बढेसँगै देशभरका शिक्षण संस्था बन्द छन् । सञ्चालन भइरहेका परीक्षा पनि बीचैमा स्थगित भएका छन् ।

देशका ५२ जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ । अधिकांश जिल्लामा वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरिएको छ । संक्रमण बढिरहेकाले थपिने सम्भावना उत्तिकै छ । यसले गर्दा कक्षा १० र १२ का विद्यार्थीलाई परीक्षा नहुने त होइन भन्ने चिन्ता पनि थपिएको छ । 


राष्ट्रिय परीक्षा बोर्डले भने हालसम्म पूर्व निर्धारित तालिका अनुसार नै परीक्षा गराउने तयारी गरिरहेको जनाएको छ । बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो ।

बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेल भन्छन्, ‘अहिलेसम्म पूर्व निर्धारित समय अनुसार नै परीक्षा गराउने तयारी छ । यो महीनाको अन्तिमसम्म हेरौं । त्यसपछिको स्थिति अनुसार निर्णय गर्छौं ।’

यद्यपि दैनिक थपिने नयाँ संक्रमितको संख्या आठ हजारभन्दा बढी पुग्न थालेको छ । यस्तो अवस्थामा भौतिक रूपमा परीक्षा सञ्चालनको सम्भावना कम हुँदै गएको अधिकारीहरू स्वीकार्छन् ।

एन–प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा पनि विद्यार्थीका लागि परीक्षाभन्दा सिकाइ महत्वपूर्ण भएको बताउँछन् । सिकाइको अवस्था बुझेर मात्रै परीक्षा हुनुपर्ने भन्दै उनी भन्छन्, ‘विद्यार्थीले पढ्नै पाएका छैनन् । केको आधारमा परीक्षा लिने ?’

नेपाल अभिभावक महासंघले विद्यालय खुल्न सक्ने अवस्था नभएको भन्दै परीक्षा स्थगन गर्नुपर्ने बताएको छ । परीक्षा स्थगन गरी विद्यार्थीको शिक्षण सिकाइको अवस्था बुझेर परीक्षाको तयारी गर्नुपर्ने महासंघ अध्यक्ष सुप्रभात भण्डारी बताउँछन् ।

सबै विद्यार्थीले वैकल्पिक माध्यमबाट परीक्षा दिन नसक्ने भएकाले केही समय परीक्षा सार्नुको विकल्प नभएको उनले बताए । भन्छन्, ‘तत्काललाई परीक्षा स्थगन गरेर विद्यार्थीको पहुँचको आधारमा नीति बनाएर मात्र परीक्षा गर्नुपर्छ । त्यो समयसम्म विद्यार्थीले पढ्ने समय पाउँछन् ।’

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको भने फरक मत छ । तोकिएको शैक्षिक सत्र खेर जान नदिन वैकल्पिक विधिबाट भए पनि परीक्षा गराउनुपर्ने महासंघका अध्यक्ष कृष्ण थापा बताउँछन् ।

निजी विद्यालयहरूको अर्को संगठन प्याब्सनले पनि शैक्षिक सत्र धकेलिन नहुनेमा जोड दिएको छ । ‘सिकाइ भएन भनेर शैक्षिक सत्र नै पछाडि धकेलिनु हुँदैन । एक स्तरको पढाइ भएको छ, त्यही अनुसार मूल्यांकन गर्नुपर्छ’ प्याब्सनका सह–अध्यक्ष डिके ढुंगाना भन्छन् ।

शिक्षा मन्त्रालय भने पूर्व निर्धारित समय अनुसार नै परीक्षा गराउने तयारी गरिरहेको बताउँदै आएको छ । मन्त्रालयले परीक्षा गराउन नसके के गर्न सकिन्छ भनेर न त छलफल गरेको छ, न वैकल्पिक विधिबारे तयारी नै ।

मन्त्रालयका प्रवक्ता दीपक शर्मा भन्छन्, ‘परीक्षा पूर्व निर्धारित समयमा नै गराउने तयारी छ । परीक्षा नै गराउन नसक्ने अवस्था आए अथवा शैक्षिक सत्र के गर्ने भन्नेसम्मको बहस भएको छैन । त्यस्तो अवस्था आए त्यहीबेला निर्णय हुन्छ ।’  

Powered by Blogger.