Header Ads

योगी आदित्यनाथको चेतावनी : नेपालले सीमा निर्धारण गर्दा परिणाम पनि ख्याल गरोस्

काठमाडाैं, २३ जेठ । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भविष्यको परिणाम ख्याल गरेर राजनीतिक सीमा निर्धारणसम्बन्धी कदम चाल्न नेपाललाई चेतावनी दिएका छन् । आदित्यनाथले बुधबार लखनउमा इन्डो एसियन न्युज सर्भिसलाई दिएको अन्तर्वार्तामा नेपालले आफ्नो सीमाबारे निर्णय गर्नुपर्ने बताएका छन् ।

२ जेठमा भारतका स्थल सेनाध्यक्ष मणिमुकुन्द नरभणेले कसैको उक्साहटमा नेपालले लिपुलेक सडकको विरोध गरेको विवादास्पद अभिव्यक्ति दिएका थिए । नेपाल–भारत परराष्ट्र सचिवस्तरीय वार्ताका लागि नेपालको प्रस्तावको जवाफ भारतबाट आएको छैन, तर प्रधानमन्त्री नरेन्द्र मोदीका अत्यन्त निकटस्थ योगीबाट नकारात्मक टिप्पणी आएको छ ।

‘नेपाल र भारत दुई देश भए पनि हाम्रो आत्मा एउटै हो । नेपालले तिब्बतको भविष्य के भएको हो भन्ने विचार गर्नुपर्छ । उसले तिब्बतको जस्तो गल्ती गर्नुहुँदैन,’ आदित्यनाथले भनेका छन् । नेपालसँग सांस्कृतिक रूपमा सम्बन्ध रहेको गोरक्षपीठका महन्तसमेत रहेका योगी विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका उपाध्यक्ष हुन् । महासंघले नेपालमा राजसंस्थासहित हिन्दू अधिराज्यका पक्षमा राजनीतिक लबिङ गर्दै आएको छ । आदित्यनाथले नेपाललाई स्पष्ट शब्दमा भनेका छन्, ‘नेपालले आफ्नो देशको राजनीतिक सीमा निर्धारण गर्नुभन्दाअघि त्यसबाट उत्पन्न हुने परिणामका बारेमा पनि सोच्नुपर्छ । विगतमा तिब्बतमा के भएको थियो, तिब्बतले के गल्ती गरेको थियो भन्ने पनि नेपालीले सम्झिनुपर्छ ।’

आदित्यनाथले नेपालको तिब्बतीकरणको भय पोखेका हुन् वा तिब्बत चीनमा मिसिएझैँ भारतले नेपाललाई लिने धम्की दिएका हुन् भन्ने स्पष्ट पारेनन् । भारतले २६ वैशाखमा नेपाली भूमि भएर लिपुलेक जोड्ने सडक उद्घाटन गरेपछि नेपालले विरोध जनाएको थियो । भारतका सेनाध्यक्षले २ जेठमा कसैको उक्साहटमा नेपालले विरोध गरेको आरोप लगाएको पाँच दिनपछि ७ जेठमा नेपालले लिम्पियाधुरासम्म समेटिएको नयाँ नक्सा जारी गरेको थियो । यसबारे नेपाल र भारतमा बहस भइरहेका वेला योगी आदित्यनाथको नकारात्मक टिप्पणी आएको हो ।

नेपालको पछिल्लो राजनीतिक परिवर्तनका कटु आलोचक आदित्यनाथ नेपालमा हिन्दू राष्ट्र र राजसंस्था पुनस्र्थापनाका कट्टर पक्षपाती हुन् । मुख्यमन्त्री आदित्यनाथले २४ पुस २०७४ मा पूर्वराजा ज्ञानेन्द्र शाहलाई लखनउस्थित निवासमा भेटेका थिए । उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री रहेका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग वार्ताबाट समस्या समाधान गर्ने बताइरहेका वेला आदित्यनाथले नेपाललाई भड्काउने अभिव्यक्ति दिएका छन् । आदित्यनाथले नेपाल र भारतबीच सदियौँदेखिको सांस्कृतिक सम्बन्ध रहेको र यो सीमाबाट निर्धारित हुन नसक्ने पनि बताएका छन् । यो सम्बन्धलाई आधार मानेर नेपाल सरकारले निर्णय लिनुपर्ने पनि उनको भनाइ थियो । नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले समाचार लेखेका छन् ।
Powered by Blogger.