सीमा सुरक्षा छाडेर ठेक्कापट्टा र व्यापारमा संलग्न सेनाकाे संख्या कटाैती गर्न दवाव
काठमाडाैं, १ जेठ । सामान्य अवस्थामा समेत सेनाको जनशक्ति ठूलो भएको भन्दै कटौतीको बहस हुँदै आएको छ । कोरोनाले अर्थतन्त्रमा पारेको असरपछि सेनाका दरबन्दी कटौती गर्ने उपयुक्त समय आएको छ । संसद्मा समेत यसबारे बहस सुरु भएको छ ।
कांग्रेस नेता डा. रामशरण महतले सेनाको बजेट कटौतीको माग गरेका छन् । त्यस्तै नेकपाकै सांसद राम कार्कीले गत महिना संसद्को अन्तर्राष्ट्रिय समितिमा बोल्दै सेनाको जनशक्ति कटौतीको प्रस्ताव गरेका थिए ।
संसद्को राज्यव्यवस्था समितिकी सभापति शशी श्रेष्ठ भन्छिन्, ‘अहिले युद्ध लड्नुपर्ने अवस्था छैन, त्यसकारण सेनाको जनशक्तिबारे यहीवेला छलफल गर्नुपर्छ । विपत् व्यवस्थापनलगायत कामलाई कति आवश्यक हुन्छ, त्यति मात्र राखौँ, ठूलो संख्याभन्दा पनि सानो तर चुस्त सेना बनाउनुपर्छ ।’ सुविधा र स्रोत साधनले सुसज्जित बनाएर सेनाको संख्या घटाउनुपर्ने उनको भनाइ छ ।
गृह मन्त्रालयका एक अधिकारी भने सेनाबाट केही जनशक्ति प्रहरीमा स्थानान्तरण गर्न सके पनि राज्यलाई धेरै फाइदा हुने बताउँछन् । ‘सीमा सुरक्षाका लागि अहिले सशस्त्र प्रहरीले नौ हजार जनशक्ति मागेको छ,’ ती अधिकारी भन्छन्, ‘सेनाबाट नौ हजार स्थानान्तरण गर्न सकियो भने राज्यको खर्च जोगिन्छ, सीमा सुरक्षा पनि बलियो हुन्छ ।’
नेपालभन्दा धेरै जनसंख्या भएका र आर्थिक रूपमा सम्पन्न देशमा पनि सेनाको संख्या यहाँको भन्दा कम छ । सेनामा अहिले ९६ हजार ६ सय पुर्याइएको छ । जब कि हरेक स्थानीय तहसम्म पुगेको नेपाल प्रहरीमा जनशक्ति ७९ हजार मात्र छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

