Header Ads

घरभित्र बस्नेलाई कोरोनाको त्रास : फोहोर उठाउने मजदुरहरू पन्जा र मास्क विहीन

काठमाडाैं, १९ वैशाख । वीरगन्जमा आइतबार दुई व्यक्तिमा कोरोना संक्रमण पुष्टि भयो । एक संक्रमित वीरगन्ज महानगरपालिकाको एउटा वडाको सरसफाइ मजदुरका नाइके हुन् ।

यो विषय एक मजदुरको मात्र होइन, वीरगन्ज र देशैभरि फोहोर संकलनमा खटिएका मजदुरको सुरक्षामा कसैले ध्यान दिएको छैन ।

बाहिर निस्किँदा अनिवार्य मास्क लगाउन, बाहिरी वस्तु छुनुपरे पन्जासमेत लगाउन सूचना फुक्ने सरकारले फोहोर उठाउने मजदुरलाई पञ्जासमेत दिएको छैन ।


‘कोरोना आएको भन्छन्, तर हामी त खाली हातमै काम गर्नुपरेको छ, बुट त झन् कहाँ पाउनु ?’ कपडाको असुरक्षित मास्कमा सडक बढार्दै गर्दा भेटिएकी वीरगन्जकी स्थायी सफाइ मजदुर रेणु देवीले भनिन्, ‘मागे पनि कसैले दिँदैन, के गर्ने ?’ रन्जु देवी र सुमित्रा देवीले पनि महानगरपालिकाले ग्लोब्स, मास्क र बुट केही नदिएको बताए । ‘काम लगाएपछि गर्नैपर्‍यो, हामी त बाँचे भाग्यले बाँच्ने हो,’ सुमित्राले भनिन् ।

वीरगन्ज महानगरपालिकामा स्थायी रूपमा काम गर्ने मात्रै एक सय ५० कुचिकार र २६ नाइके रहेको सरसफाइ व्यवस्थापन शाखाले जनायो । ‘ग्लोब्स र बुट पर्याप्त नभएकाले दिएको छैन,’ व्यवस्थापन शाखा प्रमुख राजीव सिंहले भने, ‘जिन्सी शाखाबाट उपलब्ध भएपछि बाँड्छौँ ।’

 त्यस्तै, फोहोर उठाउने ठेक्का पाएको पृथ्वीतारा/एनके इन्टरनेसनल जेभीले दुई सय ५० मजदुर खटाएको छ । उसले पनि मजदुरको सुरक्षामा चासो दिएको छैन । तिवारी यादवले नयाँ पत्रिका दैनिकमा समाचार लेखेका छन् ।
Powered by Blogger.