Header Ads

आन्तरिक भेलामा नेपालको ब्रिफिङ– प्रचण्ड सहजै ‘कन्भिन्स’, वामदेव गौतमको भूमिका भने अस्थिर

काठमाडाैं, २२ वैशाख । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयको निर्णयबारे समूहका स्थायी समिति र केन्द्रीय कमिटी सदस्य तथा निकट सांसदहरूलाई ‘ब्रिफिङ’ गरेका छन् । कोटेश्वरस्थित वन पैदावारको कार्यालयमा नेता नेपालले भावी रणनीतिमा केन्द्रित रहेर स्थायी समिति सदस्यहरूबाट सुझाबसमेत लिएका थिए ।

‘पहिले भएको अधिकार बाँडफाँडअनुसार कार्यकारी अध्यक्षका रूपमा तपाईंले पार्टी चलाउनुस्, म सरकार चलाउँछु भन्ने केपीजीको प्रस्तावमा प्रचण्डजी सहजै विश्वस्त हुनुभएको देखियो, पार्टीलाई मिलाएर चलाऊँ, एकतासहित अघि बढौँ भन्ने राम्रै प्रस्ताव पनि हो,’ नेपालको ब्रिफिङ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने, ‘बाहिरबाट हेर्दा प्रचण्डजीलाई फकाएको र उहाँ फकिएजस्तो देखिए पनि पार्टीलाई विधिसम्मत सञ्चालन गर्ने सन्दर्भमा प्रधानमन्त्रीसहित सबैको सहमति रहेकाले त्यसरी धेरै आशंका गर्नुपर्ने स्थिति छैन ।’


यद्यपि, उपाध्यक्ष वामदेव गौतमको भूमिका भने अस्थिर पात्रका रूपमा देखिएको नेपालको भनाइ थियो । ‘उहाँले त बालुवाटारमा सहमति भइसकेपछि प्रचण्डजीलाई पनि भेटेर माधव नेपालको कुनै भर नगर्नुस्, धोका दिन सक्छन्, मिलेर अघि बढ्ने गरी कुनै योजना नबनाउनुस् भन्दै कान फुक्नसमेत भ्याइसक्नुभएछ,’ नेपालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने । गौतमले आफूलाई विधि, मूल्य–मान्यताबाट विचलित भएर ‘अवसरवादी’ चरित्र देखाएको भेलामा चर्चा पनि भएको थियो । ‘वामदेव कमरेडको पछिल्ला गतिविधि राजनीतिक अवसानको पन्जापत्रमा गरिएको हस्ताक्षर नै हो,’ केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने ।

पहिलो चरणमा नेपालनिकट केन्द्रीय सदस्यहरू जगन्नाथ खतिवडा, नीरज आचार्य, कल्याणी खड्का, विष्णु रिजाल तथा निकट सांसदहरूसहित करिब तीन दर्जन सहभागी थिए । उनीहरूसँगको छलफललगत्तै नेपालले निकट स्थायी समिति सदस्यहरूसँग बेग्लै छलफल गरेका थिए । स्थायी समिति सदस्य युवराज ज्ञवालीले नेता नेपालले सचिवालयको निर्णयको ब्रिफिङ गरेपछि आफूहरूले पनि सुझाब दिएको बताए ।

दिनभर निकट नेता र सांसदहरूसँग छलफल गरेका नेपालले आगामी दिनको रणनीतिमै केन्द्रित रहेर अझै केही दिन निकटस्थहरूसँगको छलफललाई निरन्तरता दिने उनको सचिवालयले जनाएको छ । नेपालनिकट अर्का स्थायी समिति सदस्य बेदुराम भुसालले सचिवालयले राम्रो निर्णय गरे पनि अहिल्यै जस्ताको–तस्तै पूर्ण रूपमा विश्वस्त हुने आधार नबनिसकेको बताए । ‘सचिवालयले राम्रो निर्णय गरेको छ, तर अहिल्यै पूर्ण समर्थन वा विश्वास गरिहाल्ने अवस्था बनिसकेको छैन, सचिवालय र स्थायी समिति बैठक पनि बस्दै छ,’ भुसालले भने ।

आफूनिकट नेताहरूसँग माधव नेपालले भने– वामदेव कमरेडको भूमिका अस्थिर पात्रका रूपमा देखियो । उहाँले त बालुवाटारमा सहमति भइसकेपछि प्रचण्डजीलाई पनि भेटेर माधव नेपालको कुनै भर नगर्नुस्, धोका दिन सक्छन्, मिलेर अघि बढ्ने गरी कुनै योजना नबनाउनुस् भन्दै कान फुक्नसमेत भ्याइसक्नुभएछ । शुराेजंग पाण्डेले नयाँ पत्रिका दैनिकमा समाचार लेखेका छन् ।
Powered by Blogger.