सशस्त्रले घर भत्काएपछि तीन महिनादेखि ३४ परिवार सुकुम्बासीको पालमुनि वास
झापा, १३ जेठ । कमल गाउँपालिका–५ लखनपुरका ७६ वर्षीय कमलपति चौलागाईंको तीन महिनादेखि बाँसको घोचामा ठड्याएको पालमुनिको वास छ । दिनदिनैजसो चल्ने हुरी र पानीले वेलावेला त्यही पाल पनि उडाउँछ । अनि, मध्यजेठको आँखा तिर्मिराउने घाम छल्न उनको ६ जनाको परिवारले रूखको छहारी खोज्नुपर्छ ।
चौलागाईंको यस्तो बिचल्ली कुनै प्राकृतिक विपत्तिले निम्त्याएको होइन, राज्यले उपहार दिएको हो । १४ वर्षदेखि बस्दै आएको घर सशस्त्र प्रहरीले भत्काइदिएपछि उनको खुला आकाशमुनि वास भयो । तीन महिनाअघि हतियारसहित आएका सशस्त्र प्रहरीले आफ्नो तालिम शिक्षालयको जग्गा अतिक्रमण गरी बसेको भन्दै चौलागाईंसहित ५२ परिवारको घर भत्काएको थियो । तीमध्ये ३४ परिवार सुकुम्बासी थिए, उनीहरू सबै अहिले खुला आकाशमुनि छन् ।
सशस्त्र प्रहरीले घर भत्काएपछि अन्त जाने ठाउँ नभएर जस्ताले वरिपरि ढाकेर अग्नि कन्दङ्वाले बनाएको त्रिभुज आकारको टहरा । पानी, हावाहुरी, शीत छलेर उनी यही घरमा बस्छन् ।
चौलागाईंको कहीँकतै एक बित्ता जग्गा छैन, अन्यत्र जाने विकल्प पनि थिएन । त्यसैले भत्काएकै ठाउँमा बाँसको घोचा र बोराको छानो लगाएर टाउको लुकाउने छानो बनाए । ‘हाम्रो जग्गामा किन बसेको भन्दै सशस्त्रले घर भत्काइदियो, भाँडाकुँडा र लुगाहरूसमेत लगेर गयो,’ उनले भने, ‘सुकुम्बासी हौँ हामी, अन्त कहीँ केही छैन । त्यसैले यहीँ ओत लाग्ने छानो बनाएँ ।’ तर, त्यही छानो पनि हावाहुरीले उडाएर लग्यो ।
अहिले स्थानीय समाजसेवी हुकुमसिंह राईले सहयोग गरेको त्रिपाललाई बाँसमा ठड्याएर ओत लाग्ने ठाउँ बनाएका छन् । तर, दिनदिनैजसो चल्ने हावाहुरी र पानीका कारण चौलागाईं निदाउन पाउँदैनन्, पानी र हुरीसँगको संघर्षमै बित्छ ७६ वर्षीय वृद्धको रात । ‘दिनैपिच्छे पानी पर्छ, अहिले त सुत्नै पाएको छैन,’ उनले पीडा सुनाए, ‘पानी परेपछि सबै ओछ्यान भिज्छ । पाल हावाले उडाउँछ कि भनेर रातभर समातेर बस्नुपर्छ । यसअघि तीनपटक उडाइसक्यो ।’
अहिले घर भत्काउने सशस्त्र प्रहरीलाई पहिला यिनै सुकुम्बासीले आँट, भरोसा र सुरक्षा दिएका थिए । ०६० मा माओवादी द्वन्द्व उत्कर्षमा रहेका वेला रतुवामाई वृक्षरोपण आयोजनाको जग्गा भोगाधिकार गरी सशस्त्र प्रहरीले पाथीभरा गण स्थापना गरेको थियो । गण जंगलले घेरिएको थियो । सशस्त्र प्रहरीले नै स्थानीय बासिन्दासहित सुकुम्बासीलाई आग्रह गरेर आफ्नैवरिपरि बसायो । अहिले भने गण भएको ठाउँमा गुल्म र तालिमकेन्द्र छ ।
‘हामी यहाँ १६ वर्षदेखि बस्दै आएका छौँ । सुरुमा माओवादीको जगजगी भएका वेला सशस्त्रले नै बोलाएर हामीलाई यहाँ बसाएको हो, त्यतिखेर हामीले नै उनीहरू (प्रहरी)लाई सुरक्षा दियौँ । तर, अहिले हामीमाथि नै अन्याय गरियो । अन्त कतै जग्गा छैन, अब कहाँ जाने हामी ?’ टहरोमा बसिरहेकी नरमाया चौलागाईंले भनिन् ।
अहिले बनाएका टहरा पनि भत्काउने भन्दै सशस्त्र प्रहरीले वेलावेलामा धम्क्याउने गरेको छ । ‘एक–दुई दिनअघि पनि सशस्त्र आएका थिए । लकडाउन भएर मात्रै नभत्काएको हो भन्दै थिए,’ स्थानीय खड्गदेवी लिम्बूले भनिन्, ‘यो पनि भत्काए भने हामी कहाँ जाने ? प्राण कसरी धान्ने ? हामी पनि यही देशका नागरिक हौँ । हामीसँग नागरिकता छ, सरकारले हेर्नुपर्दैन ?’
टहरामुनिका सुकुम्बासीलाई जंगली हात्ती र सर्पको त्रास पनि उस्तै छ । ‘पहिला राम्रो घर हुँदा त पटकपटक हात्तीले भत्काउँथ्यो, यी टहरामुनि के बाँकी राख्ला ? सर्प र विषालु किराहरूबाट केटाकेटीलाई कसरी जोगाउने भन्ने उस्तै पिर लाग्छ,’ टहरामै बसेका अग्नि कन्दङ्वाले भने । उनले सशस्त्र प्रहरीका आँखा छलेर लुकाएको जस्ताले बारेर त्रिभुज आकारको ओत लाग्ने टहरो बनाएका छन् । चिरन्जीवी घिमिरेले नयाँ पत्रिका दैनिकमा समाचार लेखेका छन् ।