Header Ads

कोरोना संक्रमण : उच्च जोखिम उपत्यका

काठमाडौं, ३० वैशाख । सरकारले उपत्यका प्रवेश गर्ने नाकाहरूमा सवारीसाधन कडाइ गरेर उपत्यकालाई केही खुकुलो पारे पनि यहाँ कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ।

भारतीय नाका हुँदै फलफूल, खाद्यान्न, औषधि, ग्याँस, पेट्रोलियम पदार्थलगायत सामग्री बोक्ने सवारीसाधनबाटै उपत्यकामा संक्रमण फैलन सक्ने त्रास बढेको हो।

ट्राफिक प्रहरीको तथ्यांकअनुसार उपत्यकामा दैनिक एक हजार हाराहारीमा मालवाहक सवारीसाधन प्रवेश गर्छन्। ती सवारीमा कम्तीमा पनि तीन÷तीनजना ओहोरदोहोर गर्दा पनि उपत्यका प्रवेश गर्नेको संख्या तीन हजार पुग्छ।

एकजना चालक, सहचालक र सहयोगी भनेर तीनजना मालवाहक सवारीमा उपत्यका प्रवेश गर्ने गरेको प्रहरी तथ्यांकले नै बताउँछ। तर सम्बन्धित डिपोहरूमा सामाना झारेपछि ती चालक र सहचालक कहाँ बस्छन् र कहाँ खान्छन् भन्नेबारे सरकारी निकाय नै जानकार छैन।

सरकारले उनीहरूलाई सुरक्षित राख्न कुनै व्यवस्था नगर्दा भारतबाट नेपालसम्म सामान ढुवानी गर्ने चालकहरूबाटै कोरोना सर्ने हो कि भन्ने डर बढेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए।

उनका अनुसार सरकारले उनीहरूलाई खानेबस्ने र फर्कने नियम नतोकिदिँदा कति दिन बस्छन् भन्ने अनुमान गर्न मुस्किल परेको छ। थानकोट नाकामा उनीहरूलाई कडाइ गरेरे सबैखाले रेकर्ड प्रहरीले राखेको छ। तर त्यतिले मात्रै पर्याप्त देखिँदैन।

कतिपय मालवाहक सवारी उपत्यका प्रवेश गरेको दुई÷तीन दिनपछि मात्रै बाहिरिने गरेका छन्। त्यसबीचमा उनीहरू कहाँ बस्छन् र कहाँ खान्छन् भन्ने अवस्थाबारे सरकारी निकायले चुस्त रेकर्ड राख्न सकेका छैनन्।

‘अत्यावश्यक सामान बोकेका मालवाहक गाडी रोक्ने कुरा भएन तर उनीहरू भारतबाट आउने भएकाले बढी सचेत हुनु आवश्यक छ,’ उनले भने। उनका अनुसार यसका लागि प्रहरी एक्लैले मात्रै सक्दैन।

सरकारले ठाउँठाउँमा चालकलाई खानेबस्ने व्यवस्था मिलाइदिनुपर्छ। उपत्यकामा सामान झारिसकेर उनीहरु बस्ने ठाउँको रेकर्ड पनि राख्नु आवश्यक छ। ‘प्रहरीले रेडर्क राखेको छ तर उनीहरुलाई कम्तीमा खानेबस्ने व्यवस्था मिलाइदिएको भए जोखिम महसुस हुने थिएन,’ एसएसपी ज्ञवालीले भने। शिवहरि घिमिरेले नागरिक दैनिकमा समाचार लेखेका छन् ।
Powered by Blogger.