Header Ads

नेकपामा फेरि ‘एक व्यक्ति-एक जिम्मेवारी’को बहस : शीर्षसहित स्थायी समितिका १९ नेता दोहोरो जिम्मेवारीमा

काठमाडाैं, २३ वैशाख । पार्टी र सरकारलाई समझदारीमा सञ्चालन गर्ने सचिवालयको पछिल्लो निर्णयसँगै नेकपामा ‘एक व्यक्ति : एक मुख्य जिम्मेवारी’को नीति कार्यान्वयनको माग मुखर बनेको छ । यो मुद्दालाई स्थायी समितिबाट पारित गराउने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको तयारी छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट समूहले भने प्राप्त जिम्मेवारी तलमाथि गर्न खोजे समस्या आउने बताएको छ । योसँगै ‘एक व्यक्ति : एक मुख्य जिम्मेवारी’ मुद्दा स्थायी समितिमा मुख्य बहस हुने सम्भावना देखाएको छ ।

पार्टी एकतापछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले यो विषय निरन्तर उठाउँदै आएको छ । प्रचण्ड–नेपाल समूहका नेताहरूले अबको स्थायी समिति बैठकबाट सरकार र पार्टीका समग्र कामको समीक्षासहित पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन त्यही नीतिलाई लागू गर्नुपर्नेमा जोड दिने तयारी गरेका हुन् । स्थायी समिति बैठक २५ वैशाखमा बोलाइएको छ ।

स्थायी समिति सदस्य युवराज ज्ञवाली भन्छन्–बारम्बार एक व्यक्ति : एक मुख्य जिम्मेवारी माथिदेखि तलसम्म लागू गर्नुपर्छ भन्दै आएका छौँ, कतिपयलाई काममाथि काम, कतिपयले जिम्मेवारी नै नपाउने स्थिति छ । दुई अध्यक्ष मिलेर सबै काम गर्ने, तर कमिटीलाई कुनै महत्व नदिने प्रवृत्ति सच्याउन खोजेका छौँ, कसैलाई विस्थापित गर्नेभन्दा पनि पार्टीलाई विधि र पद्धतिभित्र चलाऊँ भन्ने उद्देश्य हो ।

स्थायी समिति सदस्य युवराज ज्ञवालीले सचिवालयले जस्तोसुकै निर्णय गरे पनि स्थायी समितिले खुलस्त छलफल गरेर विवेकसम्मत निर्णय गर्ने बताए । ‘हामीले बारम्बार एक व्यक्ति : एक मुख्य जिम्मेवारी माथिदेखि तलसम्म लागू गर्नुपर्छ भन्दै आएका छौँ, कतिपयलाई काममाथि काम, कतिपयले चाहिँ जिम्मेवारी नै नपाउने स्थिति छ ।

 नियमित बैठक नडाकिने परिपाटी अन्त्य गरेर पार्टीलाई विधिसम्मत चलाउने, राजनीतिक नियुक्ति संस्थागत निर्णयका आधारमा गर्ने र महत्वपूर्ण निर्णय पार्टीबाट गर्नुपर्ने आवश्यकता छ,’ ज्ञवालीले नयाँ पत्रिकासँग भने, ‘दुई अध्यक्ष मिलेर सबै काम गर्ने, तर कमिटीलाई कुनै महत्व नदिने प्रवृत्तिलाई हामीले सच्याउन खोजेका छौँ, यसको अर्थ कसैलाई विस्थापित गर्नेभन्दा पनि कसले कहाँ कमजोरी गरेको छ, समीक्षा र मूल्यांकन गरेर आत्मालोचित हुँदै पार्टी र सरकारलाई विधि र पद्धतिभित्र चलाऊँ भन्ने हाम्रो उद्देश्य हो ।’

अध्यादेश प्रकरणपछि पार्टी विभाजनको खतरा औँल्याएर स्थायी समिति बैठक माग गर्दै १० वैशाखमा अध्यक्ष ओली र प्रचण्डलाई मागपत्र बुझाउने स्थायी समितिका २० नेताले ‘एक व्यक्ति : एक मुख्य जिम्मेवारी’को नीति कडाइका साथ लागू गर्न माग गर्ने तयारी गरेका छन् ।

बैठक माग गर्दै हस्ताक्षर गरेका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टीलाई संस्थागत ढंगले चलाउनुपर्ने माग भएकाले जिम्मेवारी बाँडफाँडको विषय बैठकमा उठ्ने बताए ।

 ‘पार्टीलाई संस्थागत ढंगले चलाउनुपर्छ भन्ने माग पहिलेदेखि नै उठेको हो, त्यसकारण एक व्यक्ति : एक जिम्मेवारीको माग बैठकमा उठ्नेछ,’ उनले भने, ‘सरकारको दैनन्दिन कामबारे सोध्ने कुरा हुँदैन, तर महत्वपूर्ण निर्णयहरू पार्टीमा सल्लाह गरेर गर्ने, सबै व्यक्तिलाई जिम्मेवारी दिनेगरी चल्ने हो भने ठीकै हुन्छ ।’ शुराेजंग पाण्डेले नयाँ पत्रिका दैनिकमा समाचार लेखेका छन् ।
Powered by Blogger.