Header Ads

थप ६ जना कोरोना संक्रमित पुष्टि , संक्रमितको संख्या ६८२ पुग्यो, ४ को मृत्यु

काठमाडौँ, १२ जेठ । नेपालमा थप ६ जनामा कोरोना पुष्टि भएको छ । सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछामका ३२ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।

त्यसैगरी, भेरी अस्पतालमा गरिएको परीक्षणमा जम्मा ३ जना बर्दिया गुलरियाका १८, २२ र २४ वर्षीय युवकहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, नारायणी अस्पतालको परीक्षणमा २ जनामा संक्रमण देखिएको हो । उनीहरु पर्साका कालिकामाइ क्वारेन्टाइनमा रहेकाहरु हुन् ।

एक जना पर्साकै १८ वर्षीय र अर्का काठमाडौँ घर भइ कलैयामा कार्यरत २८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

प्रदेशअनुसार प्रदेश एकमा ८६ जना, प्रदेश २ मा २३५ जना, वाग्मती प्रदेशमा ३८ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश ५ मा २९२ जना, कर्णालीमा ११ जना र सुदूरपश्चिममा १५ जना कोरोना संक्रमित रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।

यसअघि सोमबारै ७२ जनामा कोरोना देखिएको थियो । यससँगै नेपालमा हालसम्म संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ।

यस्तै बाराका एक जना वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४ पुगेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनको नेशनल मेडिकल कलेज वीरगन्जमा जेठ ४ गते मृत्यु भएको थियो । मृतक ७० वर्षीय पुरुष हुन् ।

त्यस्तै, अब नेपालमा २० स्थानमा पीसीआर पद्धतिबाट कोरोना परीक्षण हुने भएको छ । त्रिवि शिक्षण अस्पतालमा पुनः परीक्षण सुरु भएसँगै २० स्थानबाट परीक्षण गरिने भएको  हो ।
Powered by Blogger.