Header Ads

फागुनमै प्रधानमन्त्री केपी ओलीले भनेका थिए– हरेक षड्यन्त्रको सामना गर्छु, पछाडि हट्दिनँ

काठमाडाैं, १४ वैशाख । ४ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने षड्यन्त्र भएको दाबी फागुनमा नै गरेका थिए । ‘तपाईंहरूलाई लाग्ला, बहुमत छ ।

बहुमत भए पनि उनीहरू यो सरकारलाई असफल पार्ने, ढाल्ने षड्यन्त्रमा लागिरहेका छन्,’ गृहनगर झापा पुगेका ओलीले भनेका थिए, ‘म भन्न चाहन्छु– अरू कसैैले होइन, कुनै शक्तिले होइन, हामीलाई सरकारमा पुर्‍याइदिएको, हाम्रो सरकार बनाइदिएको तपाईंहरूले हो । जबसम्म तपाईंहरूको आशीर्वाद रहन्छ, साथ, शुभेच्छा र शुभकामना रहन्छ, तबसम्म सरकारलाई कसैले हल्लाउन सक्दैन । डगमगाउन पनि सक्दैन । हामी अगाडि बढ्यौँ, बढ्यौँ ।’

ओलीले आफू सबै षड्यन्त्रविरुद्ध अन्तिमसम्म लड्ने उद्घोष पनि गरेका थिए । ‘१४ वर्ष जेलजीवन बिताउनुप‍र्‍यो । ६ वर्ष भूमिगत बस्नुप‍र्‍यो । २० वर्ष त पञ्चायतविरुद्ध संघर्ष गर्नुपर्‍यो । त्यसको १८ वर्षपछिसम्म राजतन्त्रविरुद्ध संघर्ष गर्नुपर्‍यो । त्यसपछि पनि अनेक जालझेलविरुद्ध संघर्ष गरिरहनुपरेको छ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘म सधैँ लडाइँको मैदानमा खडा छु  । ४६ वर्ष भयो रोगसँग लडेको । विरोधीहरू मुकाबिला गर्न सक्दैनन् । मर्ला कि भनेर आस गर्छन् । मर्न त मर्छु एक दिन, तर अहिले होइन, अलिक पछि ।’

१४ फागुन : सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले पार्टीभित्र आफ्नाविरुद्ध षड्यन्त्र भएको भन्दै अन्तिमसम्म लड्ने बताए । वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान सचिवालयले निर्णय गर्न लागेपछि उनले भनेका थिए, ‘पहिला राष्ट्रिय सभामा जानुस् भन्दा संविधान संशोधन गरेर मात्रै जान्छु भन्नुभयो । अड्डी कस्नुभयो । संविधान संशोधनका लागि कार्यदल बनायौँ । आज संविधान संशोधन नभए पनि म राष्ट्रिय सभा जान्छु भन्ने ? के चाला हो ?’
उनले सचिवालयकै नेताहरूले आफूलाई घेराबन्दी गर्ने खेल रचेको आरोप पनि लगाएका थिए । ‘यी गतिविधि मेराविरुद्ध होइनन् भनेर कसरी विश्वास गर्ने ? कहिले कहाँ, कहिले कहाँ बसेर ममाथि प्रहार गर्ने योजना बनेका छन् । तर, म सबै प्रहारको सामना गर्छु । म तयार छु । जस्तोसुकै परिस्थिति आए पनि मेरोविरुद्धको लडाइँमा म पछाडि हट्दिनँ ।’

१ वैशाख : नयाँ वर्ष ०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सरकार–पार्टी विवादलाई अनिकालमा घरभित्रका भाँडाहरू बजेको रूपमा अथ्र्याएका थिए । ‘भनिन्छ, अनिकालमा घरभित्रका भाँडा बज्न थाल्छन् । तर, त्यसलाई रडाको मच्चिएको ठान्नु भूल हुन्छ । मन आत्तिएको, भत्किएको वेला गर्नेले गरेन कि भन्ने आशंका मनमा पैदा हुन सक्छ । गरेको पुगेन कि भन्ने लाग्न सक्छ । अझ छिटो, अझ राम्रो र तत्काल परिणाम आउने गरी काम गरिदिए हुन्थ्यो भन्ने लाग्न सक्छ । तर, अन्योल र भ्रममा पर्ने या विचलित हुने होइन, मन बलियो बनाउनु आवश्यक हुन्छ,’ प्रधानमन्त्रीले भनेका थिए ।

७ वैशाख : त्यसको सात दिनपछि प्रधानमन्त्रीले सरकारी सञ्चारमाध्यमहरूलाई सामूहिक अन्तर्वार्ता दिएका थिए । कोरोनाविरुद्ध उच्चस्तरीय राजनीतिक संयन्त्रको माग गर्ने पार्टीअध्यक्ष प्रचण्डलाई जवाफ दिँदै ओलीले भनेका थिए, ‘सरकारले संविधान र कानुनअनुसार उत्तरदायित्वपूर्ण रूपमा काम गर्छ । त्यसैका लागि जनतासँग शपथ लिएको सरकार हो यो । अब एकाध दम्भपूर्ण अभिव्यक्ति बेग्लै कुरा हुन् । अन्यथा मैले नेतृत्व गर्न, लोकप्रिय हुन वा गरेको देखाउन पाइनँ भन्ने अनधिकृत र कुण्ठाग्रस्त मानसिकता मात्रै हो । यस्ता कुराहरूको कुनै अर्थ छैन ।’ नयाँ पत्रिका दैनिकमा शुराेजंग पाण्डेले समाचार लेखेका छन् ।
Powered by Blogger.