Header Ads

कोरोना रोकथामका लागि नेपाली सेनाले ल्यायो मोबाइल एप

काठमाडौँ, १६ चैत्र । कोरोना भाइरस (कोभिड १९) को रोकथाम, प्रतिकार र नियन्त्रण अभियान सञ्‍चालन गरेको नेपाली सेनाले सर्वसाधारणबाट सूचना लिनका लागि मोबाइल एप तयार पारेर प्रयोगमा ल्याएको छ ।

सर्वसाधारणबाट सूचना लिएर कोरोनाविरुद्ध लड्नका लागि उक्त एप प्रयोगमा ल्याइएको सेनाले जनाएको छ ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले 'कोभिड १९ रेस्पोन्स एप- नेपाल' नामक मोबाइल एप तयार पारी प्रयोगमा ल्याइएको जानकारी दिएको छ ।

'हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) को प्रभावले नेपालमा पनि संक्रमण देखिएको र भविष्यमा महामारीका रुपमा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी सो रोगको रोकथाम, प्रतिकार र नियन्त्रण गर्ने कार्यलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने सन्दर्भमा क्राउड सोर्सिङको अवधारणा अनुरुप सर्वसाधारणबाट सूचना प्राप्त गरी आकस्मिक सेवा प्रवाह गर्ने उद्देश्यले नेपाली सेनाले 'COVID- 19 Response App – Nepal' नामक मोबाइल एप तयार गरी प्रयोगमा ल्याएको छ,' निर्देशनालयले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।

उक्त मोबाइल एप प्रयोग गरेर सर्वसाधारणले आफ्नो परिवार, छर छिमेक तथा साथीभाइमा कोरोनासम्बन्धी कुनै लक्षण देखिएमा विवरण पठाउन मिल्ने सेनाले जनाएको छ।

मोबाइल एपमार्फत आधिकारीक सूचना प्रवाह गरिने र कोरोनाबारे फैलिएका अफवाह रोक्ने पनि उसले जानकारी दिएको छ। मोबाइल एपमा आएका सूचना मार्फत बिरामीसँग पहुँच पुर्‍याउने पनि सेनाले जनाएको छ।

हाललाई एनड्रोइड मोबाइलका लागि मात्रै तयार पारिएको उक्त एप केही दिनभित्र एप्पल मोबाइल फोनको लागि पनि तयार पारिने सेनाले जनाएको छ। उक्त एप सेनाको वेबसाइटमा गएर डाउनलोड गर्न सकिनेछ।
Powered by Blogger.