Header Ads

सीमारक्षक देवनारायण यादव रिहा, भारतीय अदालतमा बुहारीले दिइन् यस्तो वयान

काठमाडौं, २१ असोज । भारतमा पक्राउ परेका सीमा रक्षक देवनारायण यादव रिहा भएका छन् ।
बुहारीलाई जोडेर नाबालिग अपहरण मुद्दा लगाई भारतीय प्रहरीद्वारा एक साताअघि पक्राउ परेका देवनारायण जिल्ला सत्र न्यायालयको आदेशपछि छोरा अजयसहित शनिबार रिहा भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार भारतीय बजार कुनौलीस्थित दशगजा क्षेत्रसँगै जोडिएको आदर्श ग्राम पञ्चायतमा सांस्कृतिक कार्यक्रम हेरेर फर्किने क्रममा गत आइतबार भारतीय प्रहरीले अजयलाई पक्राउ गरेको थियो । भोलिपल्ट छोरा छुटाउन गएका देवनारायणलाई कुनौली प्रहरीले पक्राउ गरी वीरपुर जेलमा राखेको थियो ।

बुहारी अपहरणको मुद्दामा भारतीय सुरक्षाकर्मीको हिरासतमा रहेका यादवलाई अदालतको आदेश बमोजिम उनका ज्वाइँको जिम्मा लगाएर रिहा गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले जानकारी दिए । उनका अनुसार रिहा भएका बाबुछोरा नेपाल फर्किदैछन् ।

अदालतमा बुहारीले दिइन् यस्तो बयान
अपहरणमा परेको भनिएकी बुहारी ज्योतिले अदालतमा ‘आफूले अजयसँग प्रेम भई राजीखुसी भागी विवाह गरेको र खुसीसाथ जीवनयापन गरिरहेको र अपहरण नगरेको इन्कारी बयान दिएपछि न्यायाधीशले रिहा गर्न प्रहरी प्रशासनलाई आदेश दिएका थिए । ज्योतिले अदालतमा आफ्ना पति र ससुरालाई भारतीय प्रहरीले अनाहकमा पक्रेर दुःख दिएको भन्दै गुनासो समेत गरेकी थिइन् ।

०७३ साउन १३ गते भारतीय पक्षले दशगजा क्षेत्रमा एकतर्फी बाँध बाँधिरहँदा देवनारायणको अगुवाइमा तिलाठीवासीले सीमा रक्षा आन्दोलन गरेका थिए । सो क्रममा भारतीय पक्षको प्रहारबाट देवनारायण घाइते भएका थिए । सरकारले उनको उपचारखर्च बेहोर्दै ‘सच्चा राष्ट्रवादी’ को सम्मानबाट सम्मानित गरेको थियो ।

देवनारायणका छोरा अजय र ज्योतिबीच विवाह भएको ६ महिना बितिसकेको अवस्थामा प्रहरीले पुरानो रिसइबी साँध्न अपहरणको निहुँ झिकेको स्थानीयको गुनासो छ ।
Powered by Blogger.