Header Ads

सागर आले आउट: बुद्ध लामालाई सर्बाधिक मत, निशान भट्टराई तेस्रो (मत परिणामसहित)

काठमाडौँ, २३ भदौ । नेपाल आइडलबाट सागर आले बाहिरिएका छन् ।

एपी वान टेलिभिजनबाट प्रशारित रियालिटी शो ‘नेपाल आइडल’को ‘टप ३’ मा पुग्नबाट सागरको यात्रा रोकिएको हो ।

दर्शकहरुले गरेको भोटको आधारमा सागर बाहिरिएको हो । टप चारबाट तीनमा जाने यो भोटको नतिजा अत्यन्तै चर्चित र बिबादित पनि रह्यो ।

निशान भट्टराई, बुद्ध लामा र प्रताप दास शुक्रबार रातिबाट ‘टप थ्री’मा सुरक्षित भएका हुन् ।  भोट गणनाको बिबाद अदालतसम्म पनि पुग्यो । नयाँ भोटिङ नगराउनु भन्ने अदालतको आदेशपछि बिहिबारको सोमा भोटिङ खुला गरिएन ।

शुक्रबार आयोजकले अदालतमा बुझाएको बिबरणअनुसार पछिल्लोपटकको भोटिङमा बुद्ध लामाले सर्वाधिक मत पाएका छन् ।

भदौ १६ गते रातीदेखि १७ गते अपरान्ह १२ बजेसम्म एसएमएस र अनलाइनबाट प्राप्त भोटमध्ये लामाले सार्वाधिक अर्थात् ११ लाख ४५ हजार ५३८ मत पाएका छन् । यो मत दोस्रो नम्बरमा रहेका प्रताप दासको भन्दा झण्डै साढे दुई लाख बढि हो ।

बुद्धले एसएमएसबाट ६ लाख ९१ हजार ५७ मत पाएका छन् भने अनलाइन भोटिङबाट ४ लाख ५४ हजार ४ सय ८१ मत पाएका छन् । दोस्रो नम्बरमा रहेका प्रताप दासले ८ लाख ९३ हजार ३ सय ४७ मत पाएका छन् । उनले ७ लाख १४ हजार ९ सय ९९ मत एसएमएसबाट र १ लाख ७८ हजार ३ सय ४८ मत अनलाइनबाट पाएका छन् ।

तेस्रो नम्बरमा रहेका निशान भटराईले ८ लाख ७१ हजार ४ सय ८० मत पाएका छन् । उनले अनलाइनबाट ३ लाख ७१ हजार १४९ मत पाएका छन् भने एसएमएसबाट ५ लाख ३ सय ३१ मत पाएका छन् ।

चौथो नम्बरमा रहेका सागर आलेले ८ लाख ९ हजार ९ सय १५ भोट पाएका छन् । उनले एसएमएसबाट ४ लाख १९ हजार ८ सय ७५ मत पाएका छन भने अनलाइनबाट ३ लाख ९० हजार ४० मत पाएका छन् ।


नेपाल आइडलको अन्तिम प्रतिस्पर्धा सेप्टेम्बर २२ मा कतारमा हुँदैछ। फाइनलमा पुगेका तिनै जना खाली हात फर्कनु पर्ने छैन। तेस्रो स्थानमा पर्ने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाउने छन्।

दोस्रोले १५ लाख रुपैयाँ पुरस्कार रहेको छ भने विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयुभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्रयाक प्राप्त गर्ने छन्।

Powered by Blogger.