एमाले अध्यक्ष ओलीले संविधानको स्वागत गर्न भारतलाई सुझाब
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालीले आफ्नै लागि संविधान बनाएको हुनाले यसलाई लिएर अरू कसैले टाउको दुखाउनु नपर्ने बताएका छन् । नेपालले संविधान संशोधन गर्नुपर्ने भनी भारतीय विदेश मन्त्रालयले दिएको सातबुँदे सुझाबको प्रत्येक बुँदाको खण्डन गर्दै ओलीले छाती ठूलो पारेर नेपालको संविधानलाई स्वागत गर्न उल्टै भारतलाई सुझाब दिएका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

नेतृ सहाना प्रधानको प्रथम स्मृतिमा सहाना प्रधान प्रतिष्ठानले बुधबार आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले अरू कसैका लागि यो संविधान नबनाएको हुनाले यसलाई कसरी संशोधन गर्ने ? के–के थपेर समृद्ध बनाउने ? कस्तो गर्यो भने यहाँ बस्ने सबै भाषाभाषी, जातजाति, भूगोल र क्षेत्रका जनताको हित हुन्छ भन्ने विषयमा नेपालीबाहेक अरू कसैको कुरा सुन्न आवश्यक नरहेको बताए ।
नेपाली कसैले पनि दु:खी हुनुपर्ने गरी संविधान नबनाइएको उल्लेख गर्दै ओलीले भने, ‘नेपाली खुसी भएका वेला अरू दु:खी हुनु जरुरी छैन, हामीले हाम्रा लागि बनाएको संविधान हो । नेपाल सानो छ, गरिब छ भनेर छिमेकीले यसमाथि जे गरे पनि हुन्छ भनेर सोच्नुहुँदैन र सोच्दैनन् भन्ने पनि हामीलाई विश्वास छ ।
त्यस्तो जसले सोच्छ, सोच्नेलाई पनि भलो गर्दैन ।’ यतिखेर नयाँ संविधानले तिमीहरूलाई खै के दियो भनेर जनता भड्काउन र उत्तेजित पार्न खोजिएको ओलीको भनाइ थियो । ‘संविधान दाल–चामलको बोरा बोकेर आउँदैन । संविधानले अधिकार दिने हो । अधिकार कसैलाई पक्षपात नगरी दिएको छ । समावेशी, समानुपातिक अपनाइएको छ, लोकतन्त्रलाई मुख्य रूपमा आत्मसात् गरेको छ । संसारको कुनै पनि देशको लोकतान्त्रिक अभ्याससँग हामी दाँजिन तयार छौँ,’ ओलीले भने ।
अंगीकृत नागरिकता लिएको भोलिपल्टै राष्ट्रपति, प्रधानमन्त्री हुन पाउनुपर्छ भन्ने माग जोसुकैले राखे पनि त्यो स्वीकार्य नहुने ओलीले बताए । ‘नेपालमा बस्न पाएकै छ, मन्त्री र सांसद हुन पाएकै छ, किन अंगीकृत लिनासाथ राष्ट्रपति, प्रधानमन्त्री नै हुनुपर्यो ?’ अमेरिकालगायतका मुलुकले पनि अंगीकृत नागरिकताका सम्बन्धमा छुट्टै व्यवस्था गरेको उल्लेख गर्दै ओलीले भारतको नाम नलिई भने, ‘हरेक राष्ट्रका आ–आफ्नै कानुन हुन्छन्, ठूलो देश वा सानो देशबाट आउँदैमा कानुन फरक हुँदैन ।’
नेपालमा ‘हामी कोही’ आयौँ भनेर राष्ट्रपति, प्रधानमन्त्री हुन नपाउने उल्लेख गर्दै ओलीले भने, ‘यो कसैप्रतिको अन्याय होइन, हामीले देशको भलाइको कुरा गरेका हौँ ।’नेपालले कसैप्रति दरभाव नराख्ने र कसैको अहित नचिताउने उल्लेख गर्दै ओलीले एक्काइसौँ शताब्दीमा अरूसँग मिलेर देश बनाउन आफूहरूले चाहेको बताए ।
तर, राष्ट्रिय हितलाई तिलाञ्जली दिएर आफूहरूले केही नगर्ने ओलीले स्पष्ट पारे । सार्वभौम संविधानसभाले दुई–चारजनाले जे भन्छन्, त्यही मान्नुपर्ने कुरो लोकतन्त्रमा हुन नसक्ने, बरु त्यो राजा–महाराजाको अधिनायकवादमा मात्र हुने उनको भनाइ थियो ।
