Header Ads

वीर अस्पतालबाट विकिरण लिक हुने खतरा, ८ किलोमिटरसम्म प्रभाव पर्ने

काठमाडौं । मुलुककै जेठो र सबैभन्दा ठूलो वीर अस्पतालमा क्यान्सरका बिरामीलाई रेडियोथेरापी सेवा दिइरहेको ‘कोबाल्ट मेसिन’बाट जुनसुकै बेला विकिरण लिक हुने खतरा बढेको छ ।

लामो समय मर्मत नगर्दा अत्यन्तै जीर्ण बनेको मेसिनभित्रको संवेदनशील भाग (कम्प्रेसर) भूकम्पले बिगारेपछि साइकलको टायर राखेर कामचलाउ बनाइएकाले जुनसुकै बेला विकिरण लिक हुने खतरा देखिएको हो । उक्त मेसिन बनाउने दक्ष प्राविधिक नेपालमा छैनन् ।

त्यतिबेला भारतबाट बोलाइएका प्राविधिकले जसोतसो टायर हालेर मेसिन चल्नेमात्र बनाउन सकेका थिए । उक्त मेसिनबाट विकिरण लिक भएमा अस्पतालका चिकित्सक, कर्मचारी र बिरामी मात्र नभई आठ किलोमिटर परसम्म असर पार्ने जोखिम छ ।

चिकित्सकका अनुसार विकिरणले क्यान्सर हुने, अंगभंग हुनेलगायत समस्या आउँछ । क्यान्सरका गरिब बिरामीको उपचारका लागि सन १९९१ मा क्यानडाबाट नेपालमै पहिलोपटक भित्र्याइएको उक्त मेसिन अहिलेसम्म मर्मत गरिएको छैन । कोबाल्ट (विकिरणको स्रोत) एकपटक परिवर्तन गरिएको छ ।

पाँच वर्षअघि नै कोबाल्ट परिवर्तन गर्नुपर्ने भए पनि अहिलेसम्म गरिएको छैन । त्यतिबेला करिब दुई करोड रुपैयाँमा खरिद गरिएको उक्त मेसिन मर्मत र कोबाल्ट परिवर्तनका लागि पाँचदेखि सात करोड रुपैयाँ लाग्छ ।

त्यसमा दुई करोड थप्नेसके नयाँ मेसिन खरिद गर्न सकिने चिकित्सकले बताए । विदेशमा प्रयोगमा आएको ८-१० वर्षमै कोबाल्टमात्र नभई मेसिन नै परिर्वतन गर्ने नियम छ । अन्नपूर्ण पोस्टमा खबर छ ।
Powered by Blogger.