Header Ads

अपरिचित युवतीको फोनले लोभ्याएपछि…!

काठमाडौं । अपरिचित युवतीको फोनले लोभ्याउँदा एक पुरुष ठगिएका छन् । अपरिचित युवततीको फोनले कोटेश्वरका लक्ष्मण खड्काले यसरी लोभ्यायो कि उनले आफ्नो पाँच लाख गुमाए । युवतीको फोनले उनीहरुलाई यति नजिक बनायो कि भेटघाट पनि दिनमा दुईदेखि तीनपटक सम्म गर्न थाले ।

फोनबाट चिनजान भएको झन्डै २ सातापछि ती युवतीले खड्कालाई आफूसँग सुन भएको बताउँदै तोलाको २५ हजारमा किन्न प्रस्ताव गरिन् । उनको फोनमा लोभिएका खड्काले सस्तो पाएको भन्दै ५ लाख ५० हजार युवतीलाई दिई सुन किने । घरका आफन्त र छिमेकीलाई देखाउँदा त्यो सुन होइन भनेपछि उनले नजिकैको सुन पसलमा गएर जाँच गरे ।
सुन पसलले त्यो सुन नभई पहेँलो धातु भएको बताएपछि खड्का तीन छक्क परे । खड्काले आफू ठगिएको पाएपछि महानगरीय प्रहरी अपराध अनुसन्धानमा उजुरी दिए । उनको उजुरीपछि महानगरीय प्रहरी अपराध महाशाखाले पहेँलो धातुलाई सुन हो भनी ठगी गर्ने दुई व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोक कानपुर गाविस–६ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ घट्टेकुलो बस्ने २९ वर्षीया अञ्जना तामाङ भन्ने लक्ष्मी लामा र ताप्लेजुङ जिल्ला फाकुम्बा गाविस–६ घर भई हाल सोही ठाउँ बस्ने ४२ वर्षीय कर्णध्वज लिम्बु रहेका छन् ।

काठमाडौँ महानगरपालिका–३४, कोटेश्वर बस्ने लक्ष्मण खड्कालाई पक्राउ परेका लक्ष्मी तामाङले फोन गरी चिनजान गरी बिल नभएको सुन रु. २५ हजारमा बिक्री गर्छु भनी रु. पाँच लाख ५० हजारमा पहेँलो धातु बिक्री गरेको प्रहरीले जनाएको छ ।

पछि उक्त पहेँलो धातु शङ्का लागी परीक्षण गराउँदा नक्कली रहेछ र आफू ठगिएको रहेछु भनी जानकारी पाउनासाथ पीडित खड्काले महाशाखामा निवेदन दिएकामा अभियुक्तले प्रयोग गरेको मोबाइल नम्बर र हुलियाको आधारमा महाशाखाबाट खटिएको टोलीले ठगी कार्यमा संलग्न ती दुई व्यक्तिलाई पक्राउ गरिएको जनाएको छ ।

काठमाडौँ जमलबाट उनीहरुले प्रयोग गरेको बा. ६९ प.८६१ नं.को स्कुटरसहित पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्दा निज लक्ष्मी लामाले ठगी गरेको रकम एपेक्स विकास बैंकमा खाता खोली राखेको र ठगी गरेको रकममध्ये रु तीन लाख आफूले लिई उक्त बैङ्कमा भएको खातामा राखेकोे खोल्न आएको प्रहरीले जनाएको छ ।

 पक्राउ परेका दुबैजनालाई ठगी मुद्दामा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।- दैनिक नेपालबाट
Powered by Blogger.