Header Ads

सेनाको हेलिकोप्टरबाट कोइराला, ओली र प्रचण्ड भूकम्प प्रभावित क्षेत्रको भ्रमण

काठमाडौँ, वैशाख २३ । वैशाख १२ गते भएको विनाशकारी भूकम्पबाट प्रभावित जिल्लाको अवलोकन गर्न प्रधानमन्त्री सुशील कोइरालासहित दलका शीर्ष नेता आज बिहान रसुवा, नुवाकोट र धादिङ जानुभएको छ ।

 प्रधानमन्त्री कोइराला, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल, प्रधानसेनापति गौरवशम्शेर नेपाली सेनाको हेलिकप्टरबाट ती जिल्लातर्फ जानुभएको प्रधानमन्त्री सुशील कोइरालाका प्रेस सल्लाहकार प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

 प्रधानमन्त्रीसहित दलका शीर्ष नेताले क्रमशः रसुवा, नुवाकोट र धादिङको भूकम्पबाट प्रभावित बस्तीको बारेमा जानकारी लिने, सम्भव भएसम्म प्रभावित क्षेत्रको अवलोकन गर्ने, सो जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आवश्यक निर्देशन दिई हवाई निरीक्षण गर्ने कार्यक्रम रहेको समेत प्रेस सल्लाहकार अधिकारीले बताउनुयभो ।

मङ्गलबार साँझ प्रधानमन्त्री निवासमा सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (एमाले) तथा प्रमुख प्रतिपक्षी दल एकीकृत (माओवादी) का शीर्ष नेताबीच भूकम्पबाट सिर्जित राष्ट्रिय विपत्तिको घडीमा भूकम्प प्रभावित जिल्लाको जनसहयोग तथा पुनःस्थापनाको साथै भौतिक संरचनाको पुनः निर्माणबारेमा विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री सुशील कोइरालाले मङ्गलबार बिहान नै विनाशकारी भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाउँको अवलोकन गर्नुभएको थियो ।
Powered by Blogger.