Header Ads

अन्तिम श्रद्धाञ्जलि दिन प्रधानमन्त्रीसहित नेताहरु नेपाल निवासमा

काठमाडौं, जेठ ५ । प्रधानमन्त्री सुशील कोइराला मंगलबार बिहान निधनभएका पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता माधवकुमार नेपालका पिता मङ्गलकुमार उपाध्यायलाई अन्तिम श्रदाञ्जलि दिन कोटेश्वरस्थित नेपाल निवासमा पुगेका छन् ।

 अन्तिम श्रद्धाञ्जलि दिन प्रधानमन्त्री कोइरालासँग उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंहलगायत मन्त्रीहरु नेपाल निवास पुगेका छन् । त्यस्तै, नेकपा एमालेका अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव ईश्वर पोखरेललगायत पदाधिकारीहरु नेता नेपालका पितालाई अन्तिम श्रद्धाञ्जलि दिन नेपाल निवास पुग्नुभएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

त्यस्तै, अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न एकीकृत नेकपा माओवादीका नेता बरिष्ठ उपाध्यक्ष डा बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत पनि नेपाल निवास पुगेका छन् । पूर्व प्रधानमन्त्री नेपालका पिताको ९९ वर्षको उमेरमा कोटेश्वरस्थित निवासमा आज बिहान निधन भएको हो ।

 उनी केही साताअघि अस्वस्थ भई पाटन अस्पतालमा उपचार गरी निवासमै आराम गरिरहेका थिए । शिक्षासेवी र समाजसेवी उपाध्यायका धर्मदर्शन तथा व्याकरणसम्बन्धी चार वटा पुस्तक प्रकाशित छन् ।

उपाध्यायको आजै दिउँसो शोकसभासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । विसं १९७३ असोज २५ मा रौतहटको गौरमा जन्मिएका उपाध्यायका तीन छोरा र तीन छोरी छन् ।
Powered by Blogger.