जाडो प्रभावितलाई प्रधानमन्त्रीले १ महिना प्रचण्डले २ महिनाको पारिश्रमिक दिने

नयाँपत्रिका दैनिकले सुरु गरेको न्यानो बाँडौं कार्यक्रमलाई प्रधानमन्त्रीले आफ्नो एक महिनाको पारिश्रमिक दिने बचन दिएका हुन् । ‘प्रधानमन्त्रीले कम्बल खरिदका लागि एक महिनाको पारिश्रमिक दिने बचन दिनुभयो,’ नयाँ पत्रिका दैनिकका प्रधान सम्पादक कृष्णज्वाला देवकोटाले भने । प्रधानमन्त्रीको मासिक पारिश्रमिक ५६ हजार २ सय रुपैयाँ छ । देवकोटाका अनुसार सो रकमबाट प्रधानमन्त्रीको गृहजिल्ला बाँकेका गरिब तथा विपन्न वर्गलाई कम्वल उपलब्ध गराइने छ ।
प्रचण्डले दुई महिनाको पारिश्रमिक दिने
यसैगरी एमाओवादी अध्यक्ष प्रचण्डले न्यानो बाँडौं कार्यक्रमका लागि दुई महिनाको पारिश्रमिक दिने भएका छन् । प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले मासिक ४४ हजार ३ सय ३० रुपैयाँ पारिश्रमिक बुझ्छन् ।
नयाँपत्रिका दैनिकले ८ पुसदेखि न्यानो बाँडौं कार्यक्रम सुरु गरेको थियो । चिसोमा कठाङ्ग्रिएका जनतालाई न्यानो बाँड्न चाहनेहरु आफैं कम्बल किनेर वा कम्बल किन्ने पैसा नयाँ पत्रिकालाई दिएर अभियानमा सहभागि हुन सक्नेछन् ।
