Header Ads

१०५ वर्षीया वृद्धाको अन्तिम इच्छा – संविधान आएको हेरेर मर्छु ...

  • ९७ वर्षीय वृद्धले उर्जामन्त्रीलाई भने, ‘लोडसेडिङ हैन विजुलीमन्त्री बन’ 
संखुवासभा । ९७ वर्षीय जुँगे गुरुङले गाउँमै आइपुगेकी उर्जामन्त्री राधा ज्ञवालीलाई भेट्नेवित्तिकै उनको कानैमा भने, ‘नानी तिमी लोडसेडिङ हैन बिजुली मन्त्री बन ।’ शुक्रबार अरुण तेस्रो परियोजनाको निर्माणस्थल संखुवासभाको नुम पुगेकी मन्त्री ज्ञवालीले वृद्धको कुरा सुनेपछि उनको इच्छा पुरा गर्न देशलाई लोडसेडिङमुक्त गर्न लागि परेका उत्तर दिइन् ।

 दैनिक ११ घण्टा लोडसेडिङको मार झेलिरहेका नेपालीको प्रतिनिधित्व गर्दै वृद्धले दिएको सुझाव सुनेपछि मुस्कुराउँदै ज्ञवालीले लोडसेडिङ हुन नदिन अरुण तेस्रो जस्ता परियोजना चाँडै सक्न स्थानीयसँग सहयोग मागिन् मत्स्यपोखरी–२ का बृद्धा गुरुङले आफूहरु जहिले अध्याँरोमा बस्नु परेको भन्दै अरुण तेस्रो र अरुणका अन्य परियोजनाको पनि काम चाँडै अगाडी बढाउन माग गरे । अरुण तेस्रो प्रभावित स्थानीयलाई अहित हुने गरी परियोजना सञ्चालन नगर्न उनले सुझाव दिए । उर्जा व्यपार सम्झौताबारे थाहा नभएको बताउँदै उनले प्रभावित क्षेत्रको लागि परियोजना अनुकुल बन्नुपर्ने माग राखे ।

  १०५ वर्षीया वृद्धाको अन्तिम इच्छा–संविधान आएको हेरेर मर्छु 
‘नानी हो, उमेरले सय नाघेँ, बैंसमा पनि प्रजातन्त्रका लागि संघर्ष गरेँ’, १०५ वर्षीया वृद्धा पुनम खड्काले उर्जामन्त्री राधा ज्ञवालीको कानैमा भनिन्, ‘अहिले केही गर्न सक्दिनँ, संविधान आएपछि मात्रै मर्ने मेरो इच्छा छ । माघ ८ मै जसरी हुन्छ संविधान ल्याउनु ।’ वृद्धा खड्काले उर्जामन्त्री राधा ज्ञवाली, सोही क्षेत्रका सभासद तारामान गुरुङ, अर्का सभासद दीपक खड्का र प्रभा बज्रचार्यलाई भेटेरै मधुरो स्वरमा चिम्रा आँखा घुमाउँदै संविधान बनाएर आफ्नो इच्छा पूरा गरिदिन आग्रह गरेकी हुन् ।

 उर्जामन्त्री ज्ञवालीले वृद्धाको कुरा सुनेपपछि ‘हुन्छ तपाइँको इच्छा पुरा गर्न हामी लागि परेका छौं’ भन्न भ्याइन् । सोही क्षेत्रबाट निर्वाचित सभासद तारामान गुरुङले पनि वृद्धाको इच्छा पुरा गर्न सहमति खोजेको भन्दै सहमति नभए बहुमतबाटै संविधान ल्याउने बताए । नेपालकै जेष्ठ नागरिकमध्येमा पर्ने उनी एक सय पाँच वर्षको उमेरमा पनि हिँड्डुल गर्न सक्छिन् । सानै उमेरबाट राजनीतिमा चासो राखेकाले अहिले पनि देशको चिन्ता लाग्ने गरेको उनको भनाइ छ ।
स्रोत - अन्नपूर्ण पोस्ट
>
Powered by Blogger.